कांग्रेसका नेता एवम् पूर्वमन्त्री खरेलको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ ।

कांग्रेसका नेता खरेलको आइतबार राति पौने १० बजे काठमाडौंको वानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको परिवारजनले बताएका छन् ।

खरेलको पार्थिव शरीरलाई सोमबार बिहान ०९ः०० बजेदेखि ११ः४५ बजेसम्म श्रद्धाञ्जलिका लागि पार्टीको केन्द्रीय कार्यालय, सानेपामा राखिएको थियो । खरेलको दिउँसो १ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम रहेको छ ।

सुब्बा देवीप्रसाद र मुकुन्दकुमारी खरेलको माइलो सन्तानको रूपमा वि.सं. २००३ सालमा काभ्रेपलाञ्चोक जिल्लाको खरेलथोकमा जन्मिएका खरेल नेपाली कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय रहेका थिए ।

नेपालको लोकतान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गरी झण्डै ९ वर्ष खरेलले जेल जीवन बिताएका थिए ।

वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईको सामिप्यमा रहेर खरेलले पार्टी संगठनका लागि उल्लेखनीय योगदान पुर्‍याएका थिए ।

वि.सं. २०४९ देखि २०५३ असारसम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यालय खरेलकै वानेश्वरस्थित घरबाट संचालन भएको थियो ।

स्वर्गीय खरेल २०४८, २०५१, २०५६ र २०६४ को आम निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसको उम्मेदवार रहेका थिए ।

वि.सं. २०५६ को आमनिर्वाचनमा काभ्रेपलाञ्चोकको क्षेत्र नं. ३ बाट विजयी भएका खरेल शिक्षा राज्यमन्त्री हुँदै महिला बालबालिका तथा समाजकल्याण मन्त्री भएका थिए ।

नेपाली कांग्रेसको विभिन्न पदीय जिम्मेवारीमा रहेर खरेलले पार्टी संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गरेका छन् ।

नेपाली कांग्रेसको संगठन निर्माण र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि खरेलले पु¥याएको योगदान सदैव स्मरणीय रहनेछ । खरेलको निधनबाट नेपाली कांग्रेसले नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा, निष्ठावान एवं अनुभवी राजनीतिज्ञलाई गुमाएको छ ।

खरेलका तीन छोराहरू कृष्णचन्द्र खरेल, महेश खरेल (पाँचखाल नगरपालिकाका प्रमुख एवं काभ्रेपलाञ्चोक प्रतिनिधि सभा क्षेत्र नं. २ का क्षेत्रीय सभापति) र शैलेस खरेल रहेका छन् ।

Published : Monday, 2026 June 22, 12:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया