बालेन निकट सांसदकै ऐलानी जग्गामा नक्सा पासबिनाको तीन तले घर, प्रधानमन्त्रीको डोजर भत्काउन पुग्ला ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले धमाधम सुकुम्बासी बस्ती खाली गराइरहँदा प्रधानमन्त्री शाहनिकट सांसद केपी खनालको पनि ऐलानी जग्गामा तीन तले घर रहेको खुलेको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. १ बसपार्कनजिकै निर्माणाधीन अवस्थाको उक्त घरले सांसद खनाललाई विवादमा तानेको छ । बालेन सरकारले काठमाडौं उपत्यकाभित्र सुकुम्बासी र भूमिहीनहरू बसोबास गरेको जग्गामा डोजर चलाएर घर, टहरा भत्काइरहेका बेला रास्वापाकै सांसद खनालले नै सार्वजनिक जमीनमा तीन तलाको घर बनाएको तथ्य बाहिर आएपछि आलोचना भइरहेको छ ।

आफन्तसमेत रहेका लम्कीचुहा नगरपालिका वडा नम्बर १ का अध्यक्ष नेत्रप्रसाद खनालका अनुसार अछामबाट बसाइँसरेर सांसद खनालको परिवार सुरुवातमा लम्कीचुहा– ३ व्यवस्थितनगरमा बसेको थियो । खनाल परिवारले केही वर्षअघि मात्रै व्यवस्थितनगरको जग्गा बिक्री गरेर वडा नम्बर १ स्थित बसपार्कनजिकको ऐलानी जग्गा किनेको वडाध्यक्ष खनालले बताए । त्यही जग्गामा सांसद खनालले घर निर्माण गरिरहेका छन् ।

वडाध्यक्ष खनालले लम्कीमा सांसदको मात्रै नभएर ६० प्रतिशत परिवारको बसोबास ऐलानी जग्गामा रहेको बताएका छन् ।

ऐलानी जग्गा भएकाले सांसद खनालको परिवारले घर निर्माण गर्दा नक्सापास गर्नसकेका थिएनन् । ऐलानी जग्गामा तीन तले घर निर्माण गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । सांसद खनालको घरलाई प्रधानमन्त्री शाहको डोजर भत्काउँछ ? वा बचाउँछ ? भनेर सामाजिक सञ्जालमा प्रश्न उठेको छ । काठमाडौंमा मापदण्ड नपुगेको भनेर आइतबार अनामनगरमा रहेको सात तलाको घरलाई भत्काइएको छ ।

सांसद खनालका स्वकीय सचिव हर्क पुनले ऐलानी जग्गामै घर निर्माण भइरहेको स्वीकार्दै जग्गा अतिक्रमण नगरिएको जानकारी दिएका छन् । पुनले सांसद खनालका बुवाआमाले आफ्नो आम्दानीबाट जग्गा खरिद गरेर घर बनाइरहेको बताएका छन् ।

लम्कीमा मात्रै सांसद खनालको जस्तै ऐलानी जग्गामा १६ हजार बढी परिवारको बसोबास रहेको बताउँदै खनालका स्वकीय सचिव पुनले खनाललाई अनावश्यक विवादमा ल्याउन खोजिएको आरोप लगाए ।

Published : Sunday, 2026 May 3, 7:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया