अध्यादेशहरू शीतल निवासमा अड्काएका राष्ट्रपतिको अस्वभाविक गतिविधि, कांग्रेस नेतासँग भेट

काठमाडौं । सरकारले विभिन्न अध्यादेशहरू जारी गर्न सिफारिस गरिरहेका बेला प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

शनिबार राष्ट्रपति कार्यालय, शीतल निवासमा पौडेल र आङदेम्बेबीच भेटवार्ता भएको हो । भेटमा उनीहरूका बीच समसममयिक राजनीतिक विषयमा संवाद भएको नेता आङदेम्बेको निजी सचिवालयले जनाएको छ ।

कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले झण्डै दुईतिहाइको सरकारद्वारा सिफारिस भएका अध्यादेशका सन्दर्भमा विपक्षी दलहरूको धारणा पनि राष्ट्रपति पौडेललाई जानकारी गराएका छन् ।

सरकारले विभिन्न अध्यादेशहरू जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपति पौडेलले सरकारद्वारा सिफारिस अधिकांश अध्यादेशहरूलाई होल्ड गरेर राखेका छन् । अध्यादेशहरू शीतल निवासमा जाम लागेका बेला राष्ट्रपति पौडेलले कांग्रेस संसदीय दलका नेता आङदेम्बेसँग भेट गरेका छन् ।

राष्ट्रपति पौडेलले अध्यादेशहरू जारी गरेर सरकारलाई सहयोग गर्नुपर्ने बेला आफ्नो माउ पार्टी नेपाली कांग्रेस संसदीय दलका नेता आङदेम्बेलाई बोलाएर भेट गरेपछि विभिन्न अड्कलबाजी र आशंकाहरू भएका छन् ।

सरकारको दवावपछि राष्ट्रपति पौडेलले तीनवटा अध्यादेश जारी गरिसकेका छन् । पौडेलले बाँकी अध्यादेश शीतल निवासमा अड्काएर राखेका छन् ।

कांग्रेस, एमाले, नेकपा र राप्रपाले सरकारले आह्वान गरिसकेको संसद बैठक रोकेर अध्यादेश जारी गर्न राष्ट्रपति कार्यालयमा अध्यादेशहरू सिफारिस गरेको भन्दै विरोध गर्दै आएका छन् । ती अध्यादेशहरू फिर्ता लिन प्रतिपक्ष दलहरूले सरकारसँग आग्रह गर्दै आएका छन् ।

Published : Saturday, 2026 May 2, 1:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया