गौतम बुद्धप्रति अत्यन्त श्रद्धा एवम् भक्तिभाव व्यक्त गर्दछु : कांग्रेस नेता आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बौद्ध दर्शनका प्रवर्तक, राष्ट्रको गौरव एवम् विश्वशान्तिका अग्रदूत गौतम बुद्धको २५७०औँ बुद्ध जयन्ती, उभौली पर्व र अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

शुक्रबार नेता आङदेम्बेले शुभकामना सन्देश जारी गरेर देश, विदेशमा बस्ने नेपाली दाजुभाई तथा दिदी बहिनीहरूमा शुभकामना व्यक्त गरेका हुन् । उनले भने, ‘वैशाख शुक्ल पक्षको पूर्णिमा तिथिको दिन गौतम बुद्धको त्रिसंयोग अर्थात् जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकै दिन परेकाले आजको तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूद्वारा गौतम बुद्धप्रति अत्यन्त श्रद्धा एवम् भक्तिभाव व्यक्त गर्दै बुद्ध जयन्ती मनाउने गरिन्छ ।’

‘शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक, तथा सांस्कृतिक विविधताबीच संहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवम् सबल बनाउन सकिने विश्वास मैले लिएको छु,’ आङदेम्बेले भनेका छन् ।

उनले आजै लिम्बू, राई, याख्खा, सुनुवार लगायत सम्पूर्ण किरात समुदायको महान् पर्व उभौली परेको भन्दै शुभकामना दिएका छन् ।

‘वसन्त ऋतुको आगमनसँगै बाली लगाउन समय सुरु हुने भएकाले प्रकृतिपूजक र पितृपूजक किराती समुदायले बालीनाली राम्रो होस्, प्राकृतिक प्रकोप तथा विपत्ती नआउन् भनेर भूमि, बाली र पितृपूजा गर्दछन्,’ उनले भने ।

‘उभौली पर्वले सबै समुदायका नेपालीबीचको सामाजिक सांस्कृतिक ऐक्वद्धतालाई थप सुदृढ गर्दै प्रगतिशील, सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि हामी सबैमा निरन्तर प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु,’ नेता आङ्देम्बेले भने ।

उनले भने, ‘आजै १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस परेको छ । मजदुर तथा श्रमजीवी वर्गको मजबुत एकताको बलमा अधिकार प्राप्तिको स्मरणमा हरेक वर्ष मनाइने यस दिवसको अवसरमा नेपाली समाजको अग्रगामी परिवर्तनका लागि श्रमिक मजदुर वर्गको योगदान एवम् बलिदानको स्मरण गर्दै उहाँहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु ।’

‘कृषिलाई श्रमसँग र शिक्षालाई उत्पादनसँग जोड्दै उपलब्ध स्रोतहरूको उच्चतम एवम् दिगो प्रयोग गरी श्रमिक मजदुरका लागि अवसर सुनिश्चित गर्न साझा संकल्पको खाँचो छ,’ उनले भने ।

‘श्रमिक एवम् मजदुर वर्गको विशिष्ट योगदानका कारण संविधानमा श्रमिक तथा मजदुरको अधिकार संस्थागत भएका छन्,’ उनले भने, ‘संविधानप्रदत्त अधिकारहरूको व्यावहारिक कार्यान्वयनका लागि मजदुर वर्गको सामूहिक प्रयास जारी रहने आशा गरेको छु । यस दिवसले सम्पूर्ण श्रमिक मजदुर वर्गमा उत्साह भर्ने विश्वास पनि व्यक्त गर्दछु ।’

Published : Friday, 2026 May 1, 5:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया