निर्वाचनमा तथाकथित विशेष महाधिवेशन गर्नु, गराउनु नै वर्तमान विवादको कारण : देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यबाहक सभापति एवम् नेता पूर्णबहादुर खड्काले निर्वाचनको पूर्वसन्ध्यामा तथाकथित विशेष महाधिवेशन गराउनु नै वर्तमान विवादको मुख्य जड भएको बताएका छन् ।

वैशाख १५ र १६ गते दुई दिन काठमाडौंमा बसेको बैठकपछि बुधबार जारी प्रेस विज्ञप्तिमा नेता खड्काले भने, ‘जे जस्तो सुकै कारणले भएपनि आम निर्वाचनको पूर्वसन्ध्यामा जवरजस्ती एक पक्षीय ढंगले पार्टीका तथाकथित विशेष महाधिवेशन गर्नु गराउनु नै वर्तमान विवादको कारण हो ।’

तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माका कारण कांग्रेसको अहिलेको अवस्था आएको र इतिहासमा सर्मनाक पराजय हुनु परेको देउवा समूहको निष्कर्ष रहेको छ ।

‘निर्वाचनमा व्यहोनु परेको सर्मनाक पराजयको मुख्य जिम्मेवार विशेष महाधिवेशनको आयोजना र त्यसको अगुवाई गर्ने नेताहरू नै हुन् भन्ने हामी ठान्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

उनले भने, ‘विश्व राजनीतिबाट अत्यन्तै प्रभावित भएको नेपालको वर्तमान राजनीतिक परिवेशमा एकतावद्ध भएर संगठन सुदृढकरण र बलिया कांग्रेस पार्टीले मात्रै अन्य दलहरू र राष्ट्रवादी शक्तिहरूसँग सम्वाद, सहमति र सहकार्य गर्दै राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता नागरिक अधिकारको रक्षा एवं संघीय समावेसी लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षा गर्न सक्ने ठहर गर्दै पार्टी बृहत्तर एकताका लागि सबैलाई आव्हान गदछौं ।’

Published : Thursday, 2026 April 30, 5:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया