राष्ट्रपतिज्यू चुरीफुरी नगरेर अध्यादेशहरू जारी गर्नुस्, कि मार्ग प्रसस्त गर्नुस्, कांग्रेस कमजोर बनाएको मूल्य चुकाउनुस्
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेशहरू शीतल निवासमा रोकेर राखेर सरकारलाई काम गर्न कठिनाइ बनाइदिएका छन् ।
झण्डै दुईतिहाइको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकारले सिफारिस गरेका अध्यादेशहरू राष्ट्रपति पौडेलले छिटोभन्दा छिटो जारी गरिदिनुपर्छ । होइन भने राष्ट्रपति पौडेलले मार्ग प्रसस्त गरिदिनुपर्छ ।
राष्ट्रपति पौडेलले सरकारले सिफारिस गरेका अध्यादेशबारे सुझाव माग्न कानूनविद्हरूलाई छलफलमा बोलाएका छन् । बिहीबार ४ बजे शीतल निवासमा कानूनविदहरूलाई बोलाइएको छ । राष्ट्रपति पौडेलले कानूनविद् हुन् वा संविधानविद् जोसँग जति पटक छलफल गरे पनि सरकारले सिफासिर गरेका अध्यादेशहरू जारी गर्नुभन्दा अर्को बिकल्प छैन ।
राष्ट्रपति पौडेलले जति नै छलफल र परामर्शहरू गरे पनि अध्यादेशहरू जारी गर्नुको बिकल्प छैन । दुईतिहाइ नजिकको सरकारले ती अध्यादेशहरू कसरी जारी गराउनुपर्छ त्यसबारेमा राम्रोसँग होमवर्क गरिसकेको छ ।
अध्यादेशहरूलाई शीतल निवासमा राष्ट्रपति पौडेलले अड्काएर राख्नु भनेको सरकारलाई काम गर्न असहयोग गर्नु हो । शीतल निवासमा बसेर प्रधानमन्त्री बालेन्द्र शाहलाई असहयोग गर्नु हो ।
रास्वपालाई जनताले झण्डै दुईतिहाइको बहुमत दिएका छन् । दुईतिहाइको बहुमत पाएको रास्वपाले आफू अनुकूल काम गर्न पाउनुपर्छ । रास्वपाका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री शाहले अलिहेसम्म संविधान र कानून विपरीतका काम गरेका छैनन् । अध्यादेश पनि ल्याउनै नमिल्ने होइन । मिल्ने भएकै कारण सरकारले अध्यादेशहरू जारी गर्न सिफारिस गरेको छ ।
नेपाली कांग्रेस कमजोर हुँदा क–कसलाई र कहाँ कहाँ क्षति हुँदो रहेछ भन्ने कुरा शीतल निवासमा बसेका राष्ट्रपति पौडेललाई राम्रोसँग यस पटक बुझ्न जरुरी छ । नेपाली कांग्रेसलाई कमजोर बनाउन र विभाजन गराउन शीतल निवासबाट पौडेलले के के गतिविधि गरेका छन् ? कांग्रेसका नेताहरूले एक÷एक हिसाब राखेका छन् । कांग्रेस कमजोर हुँदाको पहिलो असर राष्ट्रपति पौडेललाई नै हुनेवाला छ ।
निर्वाचनको बेला नेपाली कांग्रेसलाई विभाजन गर्न शीतल निवासमा बसेर गतिविधि गरे जस्तो राष्ट्रपति पौडेललाई दुईतिहाइको सरकारसँग काम गर्न सजिलो छैन । गगन थापाको भाषामा ‘ईफ बट’ केही पनि नभनेर राष्ट्रपति पौडेलले अध्यादेशहरू छिटोभन्दा छिटो जारी गर्नुपर्छ । होइन भने शीतल निवासबाट मार्ग प्रसस्त गरिदिनु नै उचित हुने टिकाटिप्पणी हुन थालेको छ ।
नेपाली कांग्रेसको आधिकारिकताका विषयमा छलफल चलिरहेका बेला राष्ट्रपति पौडेलले निकै अस्वभाविक गतिविधि देखाएको कांग्रेसका नेताहरूले बताउने गरेका छन् । जसको फलस्वरुप भृकुटीमण्डप भेला अर्थात् कथित विशेष महाधिवेशन पक्षधरवालाहरूले कांग्रेस कब्जा गर्ने मौका पाए । राष्ट्रपति पौडेलले आफ्ना प्रेस सल्लाहकार किरण पोखरेलसहितका सल्लाहकारहरूलाई प्रयोग गरेर के के गरेका थिए कांग्रेसका नेताहरूले हिसाब किताब राखेका छन् । कांग्रेसलाई कमजोर बनाएको भागिदार राष्ट्रपति पौडेलले अब मूल्य चुकाउनुपर्ने बेला आएको छ ।
नेपाली कांग्रेसलाई कमजोर बनाउन भूमिका खेल्नेमा गगन थापापछि सबैभन्दा ठूलो भूमिका शीतल निवासमा बसेका राष्ट्रपति पौडेलको रहेको भनेर कांग्रेसका नेताहरूले टिकाटिप्पणी गरिरहेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया