कांग्रेससहति ४ दलद्वारा अध्यादेशहरू स्वीकृत नगर्न राष्ट्रपतिसँग अनुरोध, संसद आह्वान गर्न माग

काठमाडौं । नेपाली कांग्रेससहित ४ राजनीतिक दलहरूले झण्डै दुईतिहाइको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकारले संसद स्थगन गरि अध्यादेश जारी गर्न सिफारिस गरेको भन्दै घोर निन्दा एवम् भर्त्सना गरेका छन् ।

बुधबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको चार राजनीतिक दलको बैठकले सरकारद्वारा सिफारिस गरिएका अध्यादेशहरूलाई जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अनुरोध गरेको छ ।

बैठकपछि जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति समक्ष सिफारिस भई गएका अध्यादेशहरु संसद छल्ने उद्देश्यका साथ सिफारिस भई आएका हुनाले स्वीकृत नगर्न सम्माननीय राष्ट्रपति समक्ष हार्दिक अनुरोध गर्दछौं ।’

‘नेपाल सरकारले यही वैशाख १४ गते संवैधानिक परिषदको काम कर्तव्य र अधिकार सम्बन्धी ऐन, २०६६ र सहकारी ऐन, २०७४ लाई संशोधन गर्ने दुई वटा अध्यादेशहरु तथा वैशाख १५ गते स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि आध्यादेश, केही नेपाल कानुन संशोधन गर्न बनेको अध्यादेश र विश्वविद्यालय सम्बन्धि अध्यादेश जारी गर्ने निर्णय गरी सम्माननीय राष्ट्रपति समक्ष सिफारिस गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

‘संसदको अधिवेशन आव्हान गरे लगत्तै स्थगन गरी यसरी अध्यादेश ल्याउनु घोर असंसदीय र अलोकतान्त्रिक कदम भएकोले हामी घोर विरोध, भर्त्सना र निन्दा गर्दछौं,’ प्रेस विज्ञप्तिमा भनिएको छ ।

‘उपरोक्त अध्यादेशहरू अविलम्ब फिर्ता गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौं,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘स्थगन गरिएको संघीय संसदको अधिवेशन अविलम्ब आव्हान गर्न जोडदार माग गर्दछौं ।’

बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे, एमाले संसदीय दलका नेता रामबहादुर थापा, नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)कीप्रतिनिधि सरस्वती लामाको उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2026 April 29, 2:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया