नेता चयनमा सानेपाबाट कांग्रेस संसदीय दलको सार्वभौम अधिकारमाथि हस्तक्षेप भयो : खड्का

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काले संसदीय दलको नेता चयनमा भएको ढिलाइ र हस्तक्षेपप्रति बिरोध जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत नेता खड्काले कांग्रेसको नेतृत्वेले संसदीय दलको नेता चयनमा दलको सार्वभौम अधिकारमाथि हस्तक्षप गरेको बताए ।

उनले भने, ‘नेपाली कांग्रेस संसदीय दलको नेता छनोटको कार्यमा देखिएको अस्वाभाविक ढिलाई र अन्योलले दलको सार्भभौम अधिकारमाथिको ठाडो हस्तक्षेपको परिणाम हो ।’

‘यो कार्य तत्काल बन्द गरियोस् । संसदीय दलका सदस्यहरूको यसतर्फ गम्भिर ध्यानाकार्षण,’ उनले भने, ‘नेपाली कांग्रेस संसदीय दलको नेता छनोट गर्ने कार्य पार्टी केन्द्रीय कार्यसमितिले दलको बिधान अनुमोदन गरेपछि संसदीय दलको बिधानको ब्यबस्था बमोजिम केन्द्रीय कार्यसमितिको समन्वय र सहजीकरणमा संसदीय दलका सदस्यहरूले सर्वसम्मत वा प्रतिस्पर्धाको माध्यमबाट सार्वभौम तरिकाले निर्बाचन सम्पन्न गर्ने बिषय हो ।’

कांग्रेसको निवर्तमान कार्यबाहक सभापति खड्काले भने, ‘यो दशथरीको हुन्डरी मच्चाउने काम र हस्तक्षेप कसैको हितमा छैन । संसदीय दलले अबिलम्ब दलनेताको चयन सम्पन्न गरेर जनता र दुनीयाँको नजरमा पार्टीको छबिमा हुन थालेको थप क्षतिलाइ रोकियोस । यस बिषयमा पार्टी केन्द्रीय नेतृत्वको गम्भिर ध्यानाकर्षण होस् ।’

गगन थापाले आफू निकटको सांसदलाई संसदीय दलको नेता बनाउन नेपाली कांग्रेस प्रतिनिधि सभा संसदीय दलको निर्वाचनलाई पटक पटक स्थगित गराइसकेका छन् । संसदीय दलको नेता चयन गर्न नसकेको भन्दै गगन थापाको आलोचना भइरहेको छ ।

सहमति हुँदैन भने निर्वाचन प्रक्रियामा लगेर जसले जित्छ त्यसलाई दलको नेता बनाउन सकिने प्रावधानलाई गगन थापाले अबरोध गरेर राखेको आरोप छ ।

Published : Monday, 2026 April 27, 8:53 am

फेसबुकबाट तपाईको प्रतिक्रिया