आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ ।

आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित कानूनी विवादमा भएको सम्झौताअनुसार कम्पनीले रकम वितरण गरेको समाचारमा उल्लेख छ ।

एप्पलले उक्त मुद्दाको सम्झौताका लागि ९ करोड ५० लाख अमेरिकी डलर अर्थात करिब १३ अर्ब ८० करोड रुपियाँ आइफोन लगायतका एप्पल डिभाइसका प्रयोगकर्तालाई वितरण गर्दैछ ।

उक्त रकम लक्षित आइफोन प्रयोगकर्ताले आफ्नो बैंक खाता वा डिजिटल पेमेन्ट एपमार्फत प्राप्त गर्न थालेका छन् ।

एप्पलमाथि आफ्नो भ्वाइस एसिस्टेन्ट सिरीको माध्यमबाट प्रयोगकर्ताहरूका विभिन्न जानकारी संकलन गरेको तथा अनुमतिबिना नै निजी कुराकानी रेकर्ड गरेको आरोप लागेको थियो ।

सिरीले कहिलेकाहीँ आफैं सक्रिय भई आइफोन प्रयोगकर्ताका संवेदनशील कुराकानीसमेत सुन्ने गरेको दाबीका आधारमा सन् २०१९ मा एप्पलमाथि उक्त गोपनीयताको मुद्दा दायर गरिएको थियो ।

एप्पलले उक्त आरोपको सम्बन्धमा कुनै गल्ती स्वीकार नगरेपनि जरिवाना तिरेर मुद्दामा मिलापत्र गर्न सहमति जनाएको थियो । जसअनुसार एप्पलले सन् २०२५ को मध्यतिर त्यस्ता प्रभावित आइफोन प्रयोगकर्ताबाट क्षतिपूर्ति दाबी संकलन गरेको थियो । अहिले सोही सेटलमेन्ट रकम वितरणको प्रक्रिया अघि बढाइएको छ ।

Published : Tuesday, 2026 January 27, 8:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया