गगनले रविलाई निचो देखाएर आफू ऊँचो हुने भ्रम पाले, आफैं उभिएको जमीन भासिएको पत्तै पाएनन् : खत्री

काठमाडौं । सञ्चारकर्मी राजिव खत्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध संसदमा प्रमाणविना नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अभिव्यक्ति दिएको भन्दै आक्रोश पोखेका छन् ।

रास्वपाको पक्षमा निरन्तर अभिव्यक्ति दिँदै आएका सञ्चारकर्मी खत्रीले महामन्त्री थापालाई बाख्रा चोरको आरोप लागे जस्तै सभापति लामिछानेलाई पनि सहकारी ठगीको आरोप प्रमाणविना लगाइएको दाबी गरेका छन् ।

सोमबार सामाजिक सञ्जालमा खत्रीले लेखेका छन्, ‘संसदमा रविविरुद्ध प्रमाणभन्दै रित्तो कागज हल्लाएको त्यो दृश्यले अझै मथिङ्गल घुमाउँछ । राजनीतिमा मान्छेले चरित्र कति तलसम्म गिराउँछ भन्ने उदाहरण थियो त्यो ।’

‘उनको आरोपको भाषा फैसला जस्तो थियो । तथ्यविना बाख्रा चोर हुनुको पीडा आफूले भोगेर पनि प्रमाणविना रविलाई सहकारी ठग भन्दिएका थिए,’ खत्रीले सामाजिक सञ्जालमा लेखेका छन् ।

‘अरुलाई निचो देखाएर आफू ऊँचो हुने भ्रम पाले । अन्नतः आफैं उभिएको जमीन भासिएको पत्तै पाएनन्,’ सञ्चारकर्मी खत्रीले लेखेका छन्, ‘गगनको सपनासँगै यतिबेला राजनीति पनि निराशाको दलदलमा उभिएको छ ।’

‘जेनजी आन्दोलनपछि गगनले माफी माग्दै भनेका थिए, अहिलेसम्म गरेको गल्तीको क्षमा माग्छु, अब गल्ति दोहोरिने छैन । के सबै गल्ती भनेकोमा रविमाथी गरेको अन्याय पनि पर्छ ?! पर्दैन भने गगनले माफी कहिले माग्ने ?’ खत्रीले गगनसँग प्रश्न गरेका छन् ।

खत्रीले लेखेका छन्, ‘गगन थापामा केहि गर्नुपर्छ भन्ने जस्तो हुटहुटी छ । त्योभन्दा बढी महत्वकांक्षको छट्पटी छ । यो सब देख्दा भक्तराज आचार्यको हजार सपनाहरूको माया लागेर आउँछ भन्ने गीतको याद आउँछ । गगनको सपनाहरूको माया लागेर आउँछ । सायद म उनको भोटर भएर पनि होला ।’

Published : Monday, 2025 November 24, 5:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया