निर्वाचनको लागि सरकारले सबै दलहरूसँग निरन्तर संवाद गरिरहेको छ : सञ्चारमन्त्री खरेल

काठमाडौं । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार तोकिएकै समयमा निर्वाचन गर्ने तयारीमा लागेको बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको विधायन व्यवस्थापन समितिमा भएको छलफलमा मन्त्री खरेलले निर्वाचन गर्ने वातावरण बनाउन सरकार लागिरेहेको बताए ।

‘तोकिएकै मितिमा चुनाव गर्ने तयारीमा सरकार छ, हामी त्यो वातावरण बनाइरहेका छौँ,’ सञ्चारमन्त्री खरेलले भने, ‘राजनीतिक दलसँग हामी निरन्तर संवादमा छौँ ।’

सञ्चारमन्त्री खरेलले तोकिएको समयमा निर्वाचन नभएमा मुलुक नयाँ जोखिममा जानसक्ने बताएका छन् । निर्वाचनको लागि सरकारले १२३ वटै राजनीतिक दलहरूसँग निरन्तर संवाद गरिरहेको मन्त्री खरेलले बताएका छन् ।

उनले निर्वाचनको वातावरण बनाउन सहयोग गर्न राष्ट्रियसभाका सदस्यहरूलाई समेत आग्रह गरेका छन् । सञ्चारमन्त्री खरेलले निर्वाचन सम्पन्न गराउने राष्ट्रियसभा र संसदीय समितिहरूको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।

‘सुशासन र भ्रष्टाचार नियन्त्रणको कुरालाई अगाडि बढाइरहेका छौँ । म के अनुरोध गर्न चाहन्छु भने चुनाव हुने बाटोमा मुलुकलाई अगाडि बढाउनुपर्छ,’ उनले भने ।

Published : Wednesday, 2025 November 19, 4:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया