अख्तियारद्वारा कपिलवस्तुको विद्यालयका अध्यक्ष र प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विश्वमैत्री आधारभूत विद्यालय, कपिलवस्तुको व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारू र प्रधानाध्यापक विश्वम्भर रैदासविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सोमबार आयोगले अध्यक्ष थारू र प्रधानाध्यापक रैदासविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार दायर गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

नागरिक लगानी कोषलगायतको रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार तौलिहवा नगरपालिका वडा– ८ स्थित श्री विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक समेतले प्राथमिक विद्यालय स्थायी शिक्षकको नागरिक लगानी कोष लगायतको सामाजिक सुरक्षा करसमेत खातामा जम्मा नगरेको भन्ने उजुरी आयोगमा परेको थियो ।

अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७८÷७९ मा कपिलवस्तु नगरपालिकाबाट छात्रवृत्ति शीर्षकमा प्राप्त रकम ५१ हजार ६००, दिवा खाजा बापतको २ लाख ४७ हजार ५० र पाठ्यपुस्तक शीर्षकमा १ लाख १६ हजार ७२९ रुपियाँ विनियोजन भएको थियो ।

प्रधानाध्यापक रैदास र व्यवस्थापन समितिका अध्यक्ष थारूको मिलोमतोमा विद्यालयमा छात्रवृत्तिका लागि निकासा भएको ५१ हजार ६ सय रुपियाँ कुनै पनि विद्यार्थीलाई वितरण नगरेको पाइएको आयोगले जनाएको छ ।

दिवा खाजा, पाठ्यपुस्तक, छात्रवृत्ति, सामाजिक सुरक्षालगायतको ४ लाख ४३ हजार ४३० रुपियाँ ७५ पैसा हिनामिना गरेको देखिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आयोगले ४ लाख ४३ हजार ४३० रुपियाँ ७५ पैसा बिगो कायम गरी बिगो बमोजिम जरिवाना र कैद दुवै सजायको मागदाबी गरेको छ ।

Published : Tuesday, 2025 November 18, 12:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया