जेनजीका नाममा अन्टसन्ट माग राख्नेहरूलाई शिक्षामन्त्री पुनको कडा जवाफ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजीले राखेका सबै माग पूरा गर्न नसकिने बताएका छन् ।

सोमबार सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा आफूलाई विभिन्न माग लिएर भेट्न आएको जेनजीहरूको समूहसँग मन्त्री पुनले जेनजीहरूलाई आगामी निर्वाचनबाट जितेर सरकार बनाएर आफ्ना माग आफैं पूरा गर्न सुझाव दिएका हुन् ।

मन्त्री पुनलाई जेनजी २.० ले बिभिन्न माग समेटेर ज्ञापन पत्र बुझाएको छ । मन्त्री पुनले कतिपय माग पूरा गर्न नसक्ने किसिमका रहेको बताएका छन् ।

शिक्षामन्त्री पुनले आफैँ निर्वाचनमा भाग लिएर जितेर आई मागहरू पूरा गर्न जेनजीहरूलाई भनेका हुन् । उनले भने, ‘अब यो तिमीहरूको सबै माग पूरा गर्ने हो भने तिमीहरू आफैँ चुनाव लड्ने, सरकार बनाउने, यसपछि कुरा आफैँले गर्ने । योभन्दा अर्को उपाय छैन ।’

शिक्षामन्त्री पुनले भने, ‘यहाँ क्यामेरा तेर्साएर बस्ने होइन । यस्तो किसिमको माग मन्त्रालय आउँदै, मन्त्रीलाई माग राख्ने होइन, आफैँ गाउँ–गाउँमा जाने हो । तिमीहरूको माग मात्रै पूरा गरेर हुन्छ, मेरो पनि त माग पूरा गर्नुपर्ने हुन्छ ।’

उनले जेनजीहरू गाउँ गएर चुनावको तयारी गर्नुपर्ने बताएका छन् । ‘अब जेनजीका भाइबहिनीहरू काठमाडौं बस्न छोडेर सबै आफ्नो गाउँमा जाने, युवा नेताहरू ल्याउने र यस्ता किसिमका मागहरू पूरा गर्ने । केही मागहरू विचार गर्न सकिन्छ, सबै माग पूरा गर्न सकिँदैन,’ शिक्षामन्त्री पुनले भने ।

जेनजी २.० ले १६ वर्षको उमेरमा एसईई पास गरी सीटीईभीटीमा पढेर देश विदेशमा काम गरी जीविका चलाउन तथा देश विकासमा योगदान गर्न चाहाने विद्यार्थी र देशको भविष्यसँग जोडिएको प्राविधिक शिक्षाका समस्या एक हप्ताभित्र समाधान गर्न भन्दै शिक्षामन्त्री पुनलाई ज्ञापनपत्र बुझाएका छन् ।

Published : Monday, 2025 November 17, 9:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया