क्रियाशील सदस्यको विवाद टुङ्ग्याएर महाधिवेशनको मिति तय गरौं : सभापति बानियाँ
नगरकोट । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले पार्टी महाधिवेशनको सर्वसम्मत कार्यतालिका सार्वजनिक गर्न आग्रह गरेका छन् ।
शुक्रबार भक्तपुरको नगरकोटमा नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति र प्रदेशसभा संसदीय दलको संयुक्त बैठकलाई सम्बोधन गर्दै बानियाँले कांग्रेसको क्रियाशील सदस्यको विवाद टुङ्ग्याएर मात्रै महाधिवेशनको मिति तय गरेर एकढिक्का भएर जानुपर्ने बताए ।
कांग्रेस केन्द्रीय समितिको बैठकमा निर्वाचन अगाडि र निर्वाचन पछाडिको कार्यतालिका सार्वजनिक भएसँगै दलका नेता तथा कार्यकर्तामा अन्यौलता छाएको उनले बताए ।

पार्टीको केन्द्रीय बैठकमा महाधिवेशनको दुई वटा तालिका सार्वजनिक गरेर विवादमा ल्याएर कांग्रेसको अस्तित्व सिद्धिने उनले बताएका छन् ।
बानियाँले भने, ‘केन्द्रीय समिति बैठकले पहिला विधान समिति बनाओस्, क्रियाशील सदस्य छानबिन समिति बनाओस् त्यसपछि छानबिन समितिले प्रतिवेदन बुझाएको १५ दिनभित्र महाधिवेशनको मिति तोक्ने काम हुनुपर्छ, महाधिवेशन निर्वाचन अगाडि र पछाडि भनेर विवाद नगरोस् ।’
बागमती प्रदेशको दुई दिन चल्ने बैठकले घनीभूत छलफल गरेर केन्द्रीय समितिलाई सुझाव दिने उनले बताएका छन् । सभापति बानियाँले कांग्रेसलाई एकढिक्का बनाएर लैजानुको विकल्प नभएको पनि बताएका छन् ।

नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले प्रदेशको बैठकपछि कांग्रेसलाई एकढिक्का बनाएर लैजाने सन्देश दिँदै कांग्रेस भक्तपुरले छिट्टै ७७ वटै जिल्लाका कांग्रेस जिल्ला सभापतिहरूको भेला पनि भक्तपुरमै गर्ने तयारी गरेको बताए ।
प्रदेशका पूर्वमन्त्री कृष्णलाल भँडेलले पार्टी एकतालाई खलबल्याउने गरी जान नहुने बताए । उनले महाधिवेशनमा जानु अगाडि पार्टीभित्रका सबै विवादलाई टुङ्याएर जानुपर्ने बताए ।
संयुक्त बैठकमा प्रदेश समितिका १३० जना सदस्य, ३७ जना पार्टीका प्रदेशसभा सदस्य, १३ जिल्लाका १३ जिल्ला सभापतिहरू, गरी १८० जनाको सहभागिता रहेको संसदीय दलका सदस्य सचिव एवम् प्रदेश सरकारका पूर्वमन्त्री मीनकृष्ण महर्जनले बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया