भदौ २४ को घटना आतंकवादी, योजनाबद्ध ध्वंश, कांग्रेसका नेता, कार्यकर्ता पनि देखिए : जीतजंग बस्नेत
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले भदौ २३ गतेको प्रदर्शन जेनजीको भए पनि भदौ २४ को घटना आतंकवादी गतिविधि रहेको बताएका छन् ।
बुधबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सम्बोधन गर्दै नेता बस्नेतले भदौ २३ को प्रदर्शन जेनजी पुस्ताको आक्रोश र राज्यप्रतिको असन्तुष्टि रहेको बताए ।
उनले भने, ‘जेनजी आन्दोलनका २ दिन फरक थिए, यो कुरा देशले बुझैपर्छ । भदौ २३ गते विशुद्ध जेनजीको आक्रोश, स्वतः उत्पन्न विद्रोही चेतना, राज्यप्रति असन्तुष्टि । भदौ २४ गते, पूर्ण रूपमा आतंकवादी गतिविधि ।’
‘२४ गतेको आन्दोलन स्पष्ट रूपमा हाइज्याक भयो । राजावादी, रास्वपा, माओवादी, दुर्गा प्रसाईं समूह, बालेन समर्थकहरूको प्रत्यक्ष उपस्थिति देखियो,’ कांग्रेस नेता बस्नेतले भने, ‘दुर्भाग्य, केही कांग्रेसका नेता र कार्यकर्ता पनि संलग्न देखिन्छन् ।’
‘सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन जलाउने, सभापति तथा नेताहरूका निजी घर, जिल्लादेखि केन्द्रीय पार्टी कार्यालय, सरकारी संरचना, राष्ट्रपति भवन, संसद भवन, मन्त्री क्वार्टर, नगरपालिका, वार्ड भवन, निजी व्यवसाय, व्यापारिक प्रतिष्ठान र होटलहरू जस्तो करदाता तथा रोजगारदाताको ध्वंस, किसुनजीको आश्रम, गणेशमान सिंहको चाक्सीबारी, विराटनगरको कोइराला निवास सबै निशाना बनाइयो,’ उनले भने ।
‘यो योजनाबद्ध ध्वंशलाई बालेन साह, दुर्गा प्रसाईं, रास्वपा, माओवादी राजावादी, अन्य समूहका समर्थकहरूले हाइज्याक गरे भन्ने तथ्य समाजमा खुलेर देखियो,’ केन्द्रीय सदस्य बस्नेतले भने ।
हिल्टन जलाउन उकास्ने पत्रकार दिलभुषण पाठक, टीओबी ग्याङ यूल्लेन्स जलेपछि माफी माग्ने लोकप्रिय अनलाइन पोर्टलहरू, परदेश बस्ने युट्युबर–पत्रकार, कलाकार, पाइलट सबै सामाजिक सञ्जालमा गलत दिशा देखाउँदै, भडकाउँदै हिंसा फैलाउन प्रयोग भएको नेता बस्नेतले बताएका छन् । उनले भने, ‘यी सबैलाई कानूनी दायरामा ल्याउन आवश्यक छ ।’
‘४०० भन्दा बढी प्रहरी भवन, गाडी जलाइयो, प्रहरीलाई कुटपीट, लखेट्दै हतियार लुटेर लुटिएको हथियारकै साहारामा पुनः प्रहरीमाथि हमला देशको इतिहासकै सबैभन्दा जघन्य अपराध हो,’ बस्नेतले भने ।
‘प्रहरीको पोसाक लुट्ने–आफू लगाउने, सरकारी संरचना ध्वस्त पार्ने, यस्तो दुर्व्यवहारमा संलग्न सबैलाई ऐन, कानूनअनुसार कडाभन्दा कडा कारबाही आवश्यक छ । राज्य पूर्ण रुपमा जल्यो । सोंच पर्ने कुरा किन पहिलो निशाना राजनीतिकर्मी, अदालत, उद्योगपति, व्यवसायी, प्रहरी ? देश आज राज्यविहीन जस्तो देखिन्छ,’ बस्नेतले भने ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया