जवानसम्मको मन जितेका आईजीपी खापुङ्गले नक्साललाई भावुक बनाएर बिदा भए
काठमाडौं । तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त भएका प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङ्गको भव्य बिदाइ भएको छ ।
बुधबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आईजीपी खापुङ्गसहित प्रहरी नायव महानिरीक्षकद्वय ई. फणिन्द्र बराल र संजीव शर्मा दासलाई विशेष समारोहबीच बिदाइ गरिएको हो । उनीहरूलाई नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले शुभकामना सहित बिदाइ गरेका छन् ।
बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खापुङ्गले प्रहरी संगठनको महानिरीक्षकको रूपमा देश र जनताको सुरक्षाको जिम्मेवारी बहन गर्ने अवसर पाउनु आफ्नो जीवनको सर्वश्रेष्ठ सम्मान भएको बताए । उनले आफ्नो छोटो नेतृत्व कालमा सामना गर्नुपरेको राजनीतिक परिवर्तनको परिवेशमा नेपाल प्रहरीको अस्तित्व जोगाई प्रहरीको मनोबल उकास्दै सांगठनिक मूल्यमान्यता, भाइचारा र अपनत्वभाव कायम गर्न हरसम्भव कोसिस गरेको बताए ।

संगठनलाई भौतिक रूपले सम्पन्न र भावनात्मक हिसाबले अझै एक ढिक्का बनाई राख्न नवनियुक्त प्रहरी महानिरीक्षक र संगठनका हरेक सदस्यहरूले विशेष भूमिका खेल्नुपर्ने खापुङ्गले बताएका छन् ।
खापुङ्गले नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । नवनियुक्त प्रहरी महानिरीक्षक व्यावसायिक, कर्तव्यनिष्ठ र दुरदर्शी व्यक्तित्व रहेको चर्चा गर्नुका साथै आफ्नो कार्यकालमा कार्कीले संगठनलाई थप नयाँ उचाइँ दिने विश्वास खापुङ्गले व्यक्त गरेका छन् ।
संगठनको श्रीवृद्धिका लागि नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीलाई सबै प्रहरी कर्मचारीहरूबाट रचनात्मक सहयोग हुने विश्वास समेत उनले व्यक्त गरेका छन् ।

प्रहरी महानिरीक्षक खापुङ्गले आफ्नो नेतृत्व कालमा सहयोग पुर्याउने सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरूप्रति आभार समेत प्रकट गरेका छन् ।
खापुङ्गले आफ्नो कार्यकालमा सम्पादन भएका उल्लेखनीय कार्यहरू एवम् प्रहरी संगठनमा हाल सञ्चालनमा रहेका महत्वपूर्ण कार्यहरू समेटिएर तयार गरिएको कार्यसम्पादन प्रतिवेदन नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीलाई हस्तान्तरण गरेका छन् ।
नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीले सेवा निवृत्त भएका प्रहरी महानिरीक्षक खापुङ्ग तथा प्रहरी नायव महानिरीक्षकद्वय ई. फणिन्द्र बराल र संजीव शर्मा दासलाई कृतज्ञताको चिनो प्रदान गरेका छन् ।
नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीले विभिन्न आरोह अवरोहहरू पार गरी सफलतापूर्वक आफ्नो सेवा अवधि सम्पन्न गरी सेवा निवृत्त हुन लागेका वरिष्ठ प्रहरी अधिकृतहरूलाई हार्दिक बधाई दिँदै सेवा निवृत्त जीवन सुखद् रहोस् भन्ने शुभकामना समेत व्यक्त गरेका छन् ।

‘खापुङ्ग र हाम्रा अग्रजहरूले मौलिक रूपमा थालनी गर्नु भएको सबै अनुकरणीय कार्यहरूलाई नेपाल प्रहरीको आगामी रणनीति र कार्य योजनाहरूमा समेटेर निरन्तर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ कार्कीले भने ।
समारोहमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती भावना श्रेष्ठ खापुङ्गलाई समेत बिदाइ गरिएको छ । भावनालाई श्रीमती नवीना कार्कीले शुभकामना सहित हार्दिक बिदाइ गरेकी छिन् ।
बिदाइको औपचारिक कार्यक्रम सम्पन्न भएपछि प्रहरी हेडक्वाटर, नक्सालबाट बाहिरिने क्रममा भावुक बनेका आईजीपी खापुङ्गले प्रहरी जवानहरू लगायत उच्च तहका पदाधिकारीहरूसँग हात मिलाएर गाडीमा सवार भइ निस्किएका थिए ।
भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछि प्रहरी कर्मचारीहरू दोहोरो चेपुवामा परेको भनेर सार्वजनिक रुपमा अभिव्यक्ति दिएपछि आईजीपी खापुङ्गले प्रहरी जवानसम्मको पीडालाई सार्वजनिक गरेको भनेर निकै प्रशंसा भएको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया