मधेशमा सरकारी कार्यालय तोडफोड, कर्मचारी, सुरक्षाकर्मीलाई आक्रमण, झण्डा फाल्ने कार्यले स्तब्ध छु : कांग्रेस नेता भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री शंकर भण्डारीले कार्तिक २४ गतेको मधेश प्रदेशको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

बुधबार नेता भण्डारीले प्रेस विज्ञप्ति जारी गरेर भने, ‘मधेश प्रदेशमा कार्तिक २४ गते घटेका घटनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’

‘मधेश प्रदेशको मुख्यमन्त्री नियुक्तिमा जुन प्रहसन भयो त्यो अत्यन्त दुःखद्, अपरिपक्व, संविधानको व्यवस्था विपरीत तथा नैतकि दृष्टिले समेत अस्वीकार्य छ,’ भण्डारीले भने, ‘यस्ता घटनाले लोकतन्त्रलाई नै क्रमशः कमजोर बनाउँदै लैजान्छ ।’

‘मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर मधेश प्रदेशमा घटेका घटना तथा व्यक्त विचारहरू नेपाल र नेपालीका लागि लज्जाबोध गर्ने प्रकृतिका र निन्दनीय तथा अस्वीकार्य छन्,’ नेता भण्डारीले भने ।

‘सरकारी कार्यालयमा भएका तोडफोड, राष्ट्रसेवक कर्मचारी तथा सुरक्षाकर्मीमाथि भएको आक्रमणले मलाई निकै स्तब्ध बनाएको छ,’ उनले भने ।

नेता भण्डारीले मधेश प्रदेशका सांसद वीरेन्द्र सिंहले राष्ट्रिय झउण्डा उठाएर फ्याकेको विषयमा पनि गम्भीर आपत्ति जनाएका छन् । उनले भने, ‘त्यस्तै विरोधका नाममा राष्ट्रिय झण्डा च्यात्ने काम भएको छ । राष्ट्रिय झण्डा देशको प्रतीक हो, हाम्रो शान हो, इतिहास हो र एकताको प्रतीक हो । त्यसमाथि हमला गर्ने काम भएको छ जसबाट प्रत्येक नेपालीको मन दुखेको छ ।’

‘त्योभन्दा पनि बढी राजनीतिक दलका माध्यमबाट मुलुकको नेतृत्व गर्छ भनि अगाडि सरेका नेताले मधेशलाई स्वायत्त घोषणा गर्नुपर्ने विचार राख्नु मुलुकको अखण्डता, सार्वभौमसत्ता र राष्ट्रियताका दृष्टिबाट अत्यन्त घातक छभन्ने मेरो ठम्याई छ,’ भण्डारीले भने ।

‘नेपालको अखण्डतामा धावा बोल्ने जुन दुश्प्रयास भएको छ त्यसको घोर भर्त्सना गर्दछु,’ उनले भने, ‘लाखौं पुर्खाको बलिदानबाट निर्माण भई सधै स्वतन्त्र रहेको नेपाल हामी सबै नेपालीको लागि प्राण भन्दा प्यारो छ ।’

‘यस देशको रक्षाका लागि आजका दिनमा पनि तराई, पहाड र हिमाल जुनसुकै ठाउँमा बसोबास गर्ने लाखौ नेपाली बलिदान दिन तयार छन्,’ भण्डारीले भने, ‘स्वतन्त्रताको नाममा यस्ता अराजक र देशद्रोही गतिविधि नेपालीलाई किमार्थ स्वीकार्य छैन । यस्ता गतिविधि गर्न तथा देशद्रोही विचार व्यक्त नगर्न म सम्वद्ध पक्षलाई सचेत गराउन चाहन्छु ।’

Published : Wednesday, 2025 November 12, 11:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया