पहिलो नम्बरका एआईजी कार्कीविरुद्ध निरन्तर मिडियाबाजी, ब्यूरोमा बन्यो जाहेरी, बारबरा फाउण्डेशन सक्रिय
काठमाडौं । नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिको समय नजिक आइरहेका बेला एकअर्काप्रति लाञ्छनायुक्त समाचार लेखाएर होच्याउने र फलानोभन्दा फलानो राम्रो भन्ने होडबाजी चलेको छ ।
आईजीपीका लागि तीन जना एआईजीपीहरू प्रतिस्पर्धामा छन् । पहिलो नम्बरमा दानबहादुर कार्की छन् । दोस्रो नम्बरमा राजन अधिकारी र तेस्रो नम्बरमा मनोज के.सी. रहेका छन् । आईजीपी बन्छु भनेर सबैभन्दा पुछार अर्थात् चौथो नम्बरमा रहेका एआईजीपी सिद्धिबिक्रम शाह पनि दौडमा छन् ।
पहिलो नम्बरमा रहेका एआईजीपी कार्कीविरुद्ध तीन जना एआईजीपीहरूले निकै गतिविधि र मिडियाबाजी गरिरहेको सञ्चारमाध्यममा आएका समाचारले देखाएका छन् । सबैभन्दा धेरै प्रहार पहिलो नम्बरमा रहेका एआईजी कार्कीमाथि भइरहेको छ ।
पहिलो नम्बरका एआईजीपी कार्कीविरुद्ध जोहरी समेत तयार पारेर पूर्वन्यायधीश गौरीबहादुर कार्की नेतृत्वको २३ र २४ भदौको घटना छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगमा दर्ता गराएका छन् । एआईजीपी कार्कीको फोनको कल डिटेल समेत हेरेर जाहेरीमा राखिएको छ । कल डिटेलसम्म हेर्ने कानून विपरितको कार्य भएका छन् । अदालतको आदेश बिना कसैको पनि कल डिटेल हेर्न पाइँदैन । कसैको व्यक्तिगत स्वार्थका लागि एउटा एआईजीपीले अर्को एआईजीपीको कलडिटेल निकाल्ने दुश्साह भएको छ ।
एआईजीपी कार्कीविरुद्धको जाहेरी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रहरी प्रमुख समेत रहेका एआईजीपी के.सी.को कार्यालयमा बनेको हेडक्वाटरमा कुरा पुगेको छ । कार्कीविरुद्ध भदौ २३ र २४ गतेको आन्दोलनको कमाण्ड गर्न नसकेको दोषी बनाएर जाहेरी दिएको आरोप छ । सोही जाहेरीलाई काठमाडौंको तीनकुनेस्थित एउटा रेष्टुरेन्टको वाईफाई प्रयोग गरेर भारतीय नम्बरबाट पत्रकारहरूलाई ह्वाट्स एपमा पठाएको रिपोर्ट प्रहरी हेडक्वाटर नक्सालमा पुगेको छ । सो विषयमा आईजीपी चन्द्रकुबेर खापुङ्गले चासो राखेको स्रोतले जनाएको छ ।
सीआईबीको कार्यालयमा ‘पत्रकार हुँ’ भन्ने एकजना दलालले एआईजीपी कार्कीविरुद्ध कीर्ते जाहेरी तयार पारेर आयोगमा दर्ता गर्नेदेखि तीनकुनेको एक रेष्टुरेन्टको वाईफाई प्रयोग गरेर भारतीय नम्बरको मोबाइलबाट ह्वाट्स एपमा कीर्ते जाहेरी पत्रकारहरूलाई पठाएको हेडक्वाटरले बनाएको विशेष कमिटीले रिपोर्ट तयार पारेर आईजीपी चन्द्रकुबेर खापुङ्गलाई बुझाएको उच्च स्रोतले जनाएको छ ।
तत्कालीन समयमा एआईजीपी श्यामलाल ज्ञवालीविरुद्ध कीर्ते जाहेरी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राज्य व्यवस्था तथा सुशासन समितिमा जाहेरी बनाएर दर्ता गराउने दलालहरू, कथित पत्रकार हुँ भन्नेहरू नै अहिले पनि पहिलो नम्बरका एआईजीपी कार्कीविरुद्ध लागेको उनीहरूका क्रियाकलापले देखाएको छ । संयोग मान्नुपर्छ तेस्रो नम्बरका एआईजीपी मनोज के.सी.लाई आईजीपी बनाउन भनेर त्यही दलालको समूह र पूर्वएआईजीपी ज्ञवाली लगायतको समूह एकजुट भएर लागेको छ ।
भदौ २४ गते बिहान आईजीपी खापुङ्गको निर्देशनमा एआईजीपी कार्कीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको जिम्मेवारी सम्हाल्न पठाएका थिए । कार्कीले भदौ २४ गते बिहान ११ बजे मात्रै जिम्मेवारी सम्हालेका थिए । कार्कीले जिम्मेवारी सम्हाल्नुभन्दा अगाडि बिहानैदेखि काठमाडौं उपत्यकाको स्थिति प्रहरीको नियन्त्रणभन्दा बाहिर गइसकेको थियो । रानीपोखरीको जिम्मेवारी आईजीपी खापुङ्गले दिए पनि कार्कीलाई पत्र दिइएको थिएन । यो विषयलाई जोडतोडले उठाएर पछाडि रहेका एआईजीपीहरूले कार्कीविरुद्ध मिडियाबाजी गरिरहेका हुन् । उनीहरूले गरिरहेको मिडियाबाजीबारे प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याल जानकार छन् । प्रधानमन्त्री र गृहमन्त्रीलाई मिडियाबाजीले प्रभाव पार्ने छैन ।
फागुन २१ गते मध्यावधि निर्वाचन आउन लागेको छ । निर्वाचनलाई बिथोल्ने कार्य कसैबाट हुनु हुँदैन । बिगतमा प्रधानन्यायाधीश रहेका बेला प्रधानमन्त्री सुशीला कार्कीले आईजीपी नियुक्तिमा नजिर बस्ने गरी वरिष्ठलाई आईजीपी बनाउन आदेश दिएकी थिइन् । सुशीला कार्कीको त्यो आदेश प्रहरीको आईजीपी नियुक्तिमा परम्परा नै बनेर बसेको छ ।
पहिलो नम्बरमा रहेका कार्कीलाई आईजीपी बन्न रोकेर तेस्रो नम्बरमा रहेका के.सी. र चौथो नम्बरमा रहेका शाह सबैभन्दा जोडतोडले लागेको मिडियामा आइरहेका समाचारहरूको तथ्यले त्यो देखाइरहेको छ । तेस्रो नम्बरमा रहेका के.सी.लाई आईजीपी बनाउन नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, पूर्वएआईजीपी श्यामलाल ज्ञवाली र पूर्वएआईजीपी पुष्कर कार्की तथा बारबरा फाउण्डेशन निकटका व्यक्तिहरू लागेको स्रोतको भनाइ छ ।

कांग्रेसका महामन्त्री गगन थापा बारबरा फाउण्डेशनसँग निकट छन् । गगन थापा बारबरा फाउण्डेशनसँग निकट रहेर काम गरेको कतै छिपेको छैन । गृहमन्त्री ओमप्रकाश अर्याललाई मास्टर गर्न र एआईजीपी मनोज के.सी.लाई पीएचडी गर्न छात्रबृत्ति पनि बारबरा फाउण्डेशनले दिएको चर्चा छ । गगन थापा र हामी नेपालीका सुदन गुरुङबीच भेट हुनु, गगनले पटक पटक गृहमन्त्री अर्याल र प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्नु लगायतका कुराले आईजीपी नियुक्तिमा विधि र परम्परा मिचेर पहिलो नम्बरका कार्कीलाई छुटाएर तेस्रो नम्बरमा के.सी.लाई वा दोस्रो नम्बरका राजन अधिकारीलाई आईजीपी बनाउने खेल त होइन ? प्रश्न उठेको छ ।
भदौ २३ र २४ गतेको प्रदर्शनपछि मनोवल कमजोर भएको नेपाल प्रहरीमा आईजीपी नियुक्तिको विषयमा पछाडि रहेकाहरू र बारबरा फाउण्डेशनसँग निकट रहेकाहरूको अस्वभाविक गतिविधि बढेपछि चिन्ताको विषय प्रहरीमा बनाइदिएको छ ।
चौथो नम्बरमा रहेका एआईजीपी सिद्धिबिक्रम शाहलाई आईजीपी बनाउने लबिङमा पूर्वआईजीपी धिरजप्रताप सिंह जोडतोडले लागेको चर्चा छ । दोस्रो नम्बरमा रहेका अधिकारीलाई कोशी प्रदेशका एमालेका नेताहरूले लबिङ गरिरहेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया