न्याय पाएको केही महिनामै आलमको निधन, ढल्यो कांग्रेसका तराईका खम्बा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री मोहम्मद अफताव आलमको उपचारका क्रममा ६३ वर्षको उमेरमा निधन भएको छ ।

काठमाडौंको सिनामंगलमा रहेको एक अस्पतालमा आलमको शनिबार बिहान निधन भएको कांग्रेसका निवर्तमान सांसद देवप्रसाद तिमल्सिनाले जानकारी दिएका छन् । कांग्रेसका पूर्व केन्द्रीय सदस्य समेत रहेका आलमको स्वास्थ्य अवस्था खराब भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेका थियो ।

आलम रौतहटको राजनीतिमा सक्रिय रहँदासम्म कुनै पनि कम्युनिस्ट वा अन्य राजनीतिक दलका नेता, कार्यकर्ताले रौतहट लगायतका तराईका जिल्लाहरूमा टाउको उठाउन सकेका थिएनन् । आलमको त्यो शक्ति देखेपछि फसाउन विभिन्न षड्यन्त्रहरू भएका थिए । फसाउने ठूलो योजना रहँदा रहँदै अदालतले आलमलाई न्याय दिएको थियो । त्याय पाएको केही महिनामै आलमको निधन भएको छ ।

मिर्गौला, उच्चरक्तचाप, सुगर लगायत स्वास्थ्यमा समस्या देखिएपछि पूर्वमन्त्री आलमलाई दशैं अगाडि अस्पतालमा भर्ना गरिएको थियो ।

छोरा डा.राजीक आलमले बुवालाई डेढ महिना अघि भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराइएको बताए ।

गएको जेठ १४ गते नख्खु कारागारबाट छुटेको केही दिनमै उनलाई मस्तिष्कघात भएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । एक साता बढी आईसीयूमा राखेर उपचारपछि डिस्चार्ज भएका आलमलाई दशैंअघि थप उपचारको लागि भारत लगिएको छोरा डा. राजीकले जानकारी दिए । पुरानै समस्या बल्झिए पछि आलमलाई केएमसी अस्पतालमा भर्ना गरिएको थियो ।

२०६४ चैत २७ गते पहिलो संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा रौतहटको राजपुरमा बम विस्फोटमा परेका यमुनामाई गाउँपालिका घर भएका घाइतेद्वय पिन्टु भनिने त्रिलोकप्रताप सिंह राजपुत र ओसी अख्तरलाई इँटाभट्टामा जलाएर हत्या गरेको कसुरमा जन्मकैदको सजाय पाएका पूर्वमन्त्री आलमसहित चार जनालाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले रौतहटको फैसला उल्ट्याउदै गएको जेठ १४ गते सफाइ दिएको थियो ।

त्यसलगत्तै पूर्वमन्त्री आलम नख्खु र भाइ महताब गौर कारागारबाट छुटेका थिए । आलमका दाजुभाइसहित शेख सराज र बद्री सहनीले पनि सफाइ पाएका छन् ।

तत्कालीन कांग्रेस नेता शेख ईद्रिसको राजनीति उर्वर भूमिको रुपमा चित्रण गरिएको रौतहट क्षेत्र नम्बर २ मा आलमले लगातार चुनाव जित्दै आएका थिए । आलमले रौतहटबाट ४ पटक प्रतिनिधित्व गरिसकेका छन् ।

आलमका दुई छोरा र एक छोरी छन् । जेठो डा. फिरदोस र कान्छो डा. राजिक हुन् । राजीक अहिले राजपुर नगरपालिकाका नगरप्रमुख छन् । आलमले २०३६ सालमा नेपाल विद्यार्थी संघबाट राजनीति शुरु गरेका थिए । उनका काका शेख ईद्रिसको प्रेरणाले उनी राजनीतिमा होमिएका थिए ।

२०३९ सालमा नेविसंघको जिल्ला अध्यक्ष बनेका आलम २०४४ मा कांग्रेस रौतहटको कार्यबाहक सभापति भए । २०४२ सालको सत्याग्रह आन्दोलनमा केही समय गौर जेल बसे । २०४५ सालमा कांग्रेसको जिल्ला सभापति बने । काका शेख ईद्रिसको निधनपछि २०५१ सालको उपनिर्वाचनमा आलम पहिलो पटक संसदीय निर्वाचनमा विजयी भएका थिए ।

तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा नेतृत्वको सरकारमा आलम २०५४ सालमा श्रम राज्यमन्त्री भए । २०५५ सालमा कांग्रेसका तत्कालीन नेता गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा आलम वन राज्यमन्त्री भए । २०५६ सालको संसदीय निर्वाचनमा पुनः निर्वाचित भएका उनी कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा स्थानीय विकास राज्यमन्त्री भएका थिए ।

त्यसपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा भूमिसुधार मन्त्री बने । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा निर्वाचित भए । तत्कालीन एमालेका नेता माधवकुमार नेतृत्वको सरकारमा श्रम तथा यातायात मन्त्री बने । २०६७ सालमा बाराका कांग्रेस नेता फरमुल्लाह मन्सुरीलाई पछि पार्दै पार्टीको केन्द्रीय सदस्यमा जिते ।

Published : Saturday, 2025 November 8, 11:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया