कांग्रेसको प्राथमिकता चुनाब हो की महाधिवेशन ? पूर्ण दाई, विश्व-गगनजी मिलेर तालिका ल्याउनुस् : लक्ष्मी खतिवडा

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले कार्यबाहक सभापति पूर्णबहादुर खड्का र दुई महमन्त्रीलाई नियमित महाधिवेशनका लागि उपयुक्त कार्यतालिका ल्याउन सुझाव दिएकी छिन् ।

बिहीबार पार्टी कार्यालय, सानेपा, ललितपुरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै खतिवडाले भनिन्, ‘पूर्ण दाई हुनुहुन्छ, पूर्ण दाई विश्वप्रकाश शर्मा, गगन थापा तपाईहरूको हिजो पनि मिलोमतो भएको हो, कुरो मिलेकै हो । मिलाएर ल्याएर आउनुस् प्रस्ताव । धेरै ल्याङल्याङ गर्नु पर्दैन ।’

उनले भनिन्, ‘मूल एजेण्डा के हो भने ? मैले थाहा पाएको छु । विशेष महाधिवेशनका लागि कसरी हस्ताक्षर संकलन गरिएको छ । कुन प्रक्रियाले गरिएको छ ? कस्ता कस्ता सिसा कलम हस्ताक्षर गर्न प्रयोग भएका छन् । सबै थाहा छ हामीलाई । मेयर बाँडिएको छ, उपमेयर बाँडिएको छ, प्रदेशका मन्त्री बाँडिएको छ ।’

‘महाधिवेशनको कार्यतालिका ल्याउनुस् । महाधिवेशन नियमित हुन्छ । प्राथमिकता चुनाव परे चुनावमा जाऔँ । चुनाव प्राथमिकता होइन भने महाधिवेशन नै गरौँ,’ खतिवडाले भनिन्, ‘लडालड गरौँ कसले धेरै बल प्रयोग गरेर जित्न सक्छ त्यतातिर लागौँ । विधि, नियम, पद्धति र प्रक्रिया छ । प्रक्रिया मिचेर नजाऔँ । म भए सर्वेसर्वा, बाँकी हुँदा हुँदैन भन्ने मानसिकताबाट निस्कनुपर्छ ।’

केन्द्रीय सदस्य खतिवडाको भनाइ स्रोतले उदृत गर्दै भन्यो, ‘फागुन २१ गते चुनाव हुन्छ भनेर हिँड्नुपर्छ हामीले । होइन भने डिजास्टरमा जान्छ देश । होइन भने कांग्रेसको बटमलाइन के हो त ? कि कांग्रेसको बटमलाइन संसद पुनर्स्थापना हो भन्नु प¥यो । संसद पुनर्स्थापना होइन भने कांग्रेसको बटमलाइन चुनाबमा हो भने दुई महिना अगाडि महाधिवेशन गरेर पार लाग्छ ? तपाईहरूले होइन अस्ति कारबाही गरेको । चुनाव हरायो, अन्तरघात ग¥यो भनेर । फेरि मार्ग प्रसस्त गर्ने बाटो खोजेको हो की वातावरण बनाउन खोजेको हो । चुनाबमा जाने होइन भने होइन भनौँन त । त्यसो भए संसद पुनर्स्थापनाको एजेण्डा लिएर जाऔँ । त्यसपछि अधिवेशनको प्रक्रियामा जाऔँ । एउटा एकातिार फर्किएर हिँडेको छ । अर्को अर्कोतिर फर्किएर हिँडेको छ ।’

‘अहिलेको झगडा पनि तँ र म को हुने भन्ने न हो । सके खारखुर पारेर अहिले नै कब्जा गरौँ भन्ने न हो । कसलाई थाहा छैन र ?’ केन्द्रीय सदस्य खतिवडाले भनिन् ।

नेतृ खतिवडाले सभापति शेरबहादुर देउवालाई हटाएर अर्को व्यक्तिलाई ल्याउनका लागि जेनजी आन्दोलनको म्याण्डेट नरहेको बताएकी छिन् ।

उनले भनिन्, ‘जेनजी आन्दोलनको म्याण्डेट शेरबहादुर हटाएर अर्को प्रसाद ल्याउ, कुमार ल्याउ, विवाहित ल्याउन भन्ने पनि होइन । वास्तविक जेनजीलाई पार्टीको मूल प्रवाहमा ल्याउ भन्ने हो । विशेष महाधिवेशनले जेनजीको मागको समाधान गर्दैन । त्यो भन्ने अधिकार तपाईहरूलाई छैन । त्यहाँबाट निक्लनुस् । जसरी साइबर स्यालहरू प्रयोग गरेर पार्टीका नेताहरूको मानमर्दन भएको छ त्यसले राम्रो भाष्य सिर्जना गरेको छैन ।’

खतिवडाले भनिन्, ‘देश संकटमा छ, व्यवस्था संकटमा छ, पार्टी संकटमा छ । हाम्रो पार्टीका नेताहरू, पार्टी सभापति, तत्कालीन परराष्ट्रमन्त्रीमाथि सांघातिक आक्रमण भयो । हामीले संहिष्णुता, समवेदना, सहानुभूतिको शब्द समेत व्यक्त गर्न सक्दैनौँ । उहाँहरूलाई जुन पीडा भएको छ, त्यो बेदनामाथि हामी पनि चिन्तित छौँ है भन्ने शब्द प्रकट पनि गर्न सक्दैनौँ । हामी कति असंहिष्णु भएका छौँ । हामी ताली बजाइ रहेका छौँ । हामी रमाइ रहेका छौँ । हामीलाई मजा आइरहेको छ ।’

उनले सभापति देउवालाई फाल्नका लागि जुन डोको सिङ्गारिएर राखिएको छ त्यो डोको भोलिका दिन तपाईहरूलाई पनि फाल्न काम लाग्ने चेतावनी दिएकी छिन् ।

‘जसले डोको सिङ्गार्र्दै हुनुहुन्छ त्यो डोको सहिसलामत ल्याउनु होला । तपाईहरूका पछाडि पनि डोको तयार गरेर माटो खनेर बसेका छन् मान्छे । धेरै नआत्तिए हुन्छ,’ खतिवडाले भनेकी छन् ।

उनले भनिन्, ‘म संस्कृति जानेको मान्छे । धर्म मान्ने मान्छे । धर्म सम्झिनु होला । धर्म सम्झिनु होला । हिजो क–कसको हात समातेर के के बन्नुभयो ? भोलि क–कसलाई के–के बनाउनु हुन्छ ? ईतिहाँसले मूल्यांकन गर्छ ।’

Published : Thursday, 2025 October 30, 6:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया