नेपालबाट उत्पादित २८३ मेगावाट बिजुली निर्यात गर्नका लागि दिएको अनुमति भारतद्वारा नवीकरण
काठमाडौं । नेपालका विभिन्न आठ जलविद्युत आयोजनाबाट उत्पादित २८३ मेगावाट बिजुली निर्यात गर्नका लागि दिएको अनुमति भारतले नवीकरण गरेको छ ।
बुधबार नेपाल विद्युत प्राधिकरणले २८३ मेगावाट विद्युत निर्यातको अनुमति नवीकरणका लागि प्रस्ताव गरेकोमा भारतको विद्युत मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय विद्युत प्राधिकरणले स्वीकृति नवीकरण गरिदिएको हो ।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को डे–अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धात्मक दरमा र द्विपक्षीय मध्यकालीन विद्युत बिक्री सम्झौताअनुसार हरियाणा र बिहार राज्यमा बिक्री गर्दै आएको छ । भारतको प्रसारण संरचनाको प्रयोग गरी बङ्गलादेशमा पनि विद्युत निर्यात भइरहेको छ ।
भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिष्पर्धी दरमा विद्युत बिक्री गर्न स्वीकृत पाएका चार आयोजनाको नवीकरण भएको छ । ती आयोजनाबाट उत्पादित १०३ मेगावाट विद्युत आइएक्समा विक्रीका लागि पाएको स्वीकृति विभिन्न मितिमा सकिएको थियो । सबै आयोजनाको निर्यात गत मङ्गलबारबाट लागू हुनेगरी करिब एक वर्षका लागि नवीकरण गरिएको छ ।
द्विपक्षीय सम्झौताअनुसार हरियाणा राज्यलाई बिक्री भइरहेको चार आयोजनाबाट उत्पादित करिब १८० मेगावाट विद्युतको विक्री अनुमति बिहीबार सकिनेछ ।
प्राधिकरणले जुन–अक्टोबरमा हरेक वर्ष हरियाणालाई विद्युत बिक्री गर्दछ । अब प्राधिकरणले हरियाणालाई विद्युत बिक्रीका लागि अनुमति पाएका आयोजनाको विद्युत आइएक्समा पनि बिक्री गर्न पाएको छ, जसलाई भारतको केन्द्रीय विद्युत प्राधिकरणले स्वीकृति दिएको छ ।
यी चार आयोजनाबाट उत्पादित विद्युत शुक्रबारबाट आइएक्समा समेत निरन्तर रूपमा बिक्री गर्न पाउने भएका छन् ।
यसअघि अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौँ सभामा सहभागी हुन नयाँ दिल्ली भ्रमणका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरसँगको भेटमा विद्युत निर्यात स्वीकृतिको प्रक्रियालाई सरलीकृत गरिदिन र विद्युत उत्पादनको सबैभन्दा राम्रो समय भएकाले नवीकरणका लागि पठाइएका प्रस्तावलाई तत्काल स्वीकृति गरिदिन आग्रह गरेका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया