गृहमन्त्री अर्यालसँग अमेरिकन राजदूतद्वारा विदेशी शरणार्थी र एमसीसीबारे चासो

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्सनले भेट गरेका छन् ।

बुधबार सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा शान्तिसुरक्षा, एमसीसीको कार्यान्वायनदेखि शरणार्थीको विषयमा छलफल भएको गृहमन्त्री अर्यालको सचिवालयले जनाएको छ ।

नेपालका लागि अमेरिकन राजदूत थम्सनले एमसीसी परियोजना कार्यालयका लागि कतिपय स्थान जग्गा अधिग्रहणमा समस्या भएको गृहमन्त्री अर्याललाई जानकारी गराएका छन् ।

जवाफमा गृहमन्त्री अर्यालले एमसीसीको जग्गा अधिग्रहणसम्बन्धी समस्या तत्कालै समाधानका लागि आफूले पहल गर्ने आश्वासन दिएका छन् ।

गृहमन्त्री अर्यालले देशको शान्ति सुरक्षाको अवस्था दिनप्रतिदिन सुध्रँदै गएको बताएका छन् । सुरक्षा निकाय र आमनागरिकबीचको विश्वासले शान्तिसुरक्षाको अवस्था सामान्य हुँदै गएको उनले बताए ।

सुरक्षाको अवस्थामा छिट्टै सुधार्न सफल भएकोमा अमेरिकी राजदूत थम्सनले गृह मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको प्रशंसा गरेका छन् ।

राजदूत थम्सनले नेपालमा रहेका विदेशी शरणार्थीको विषयमा चासो राखेको र गृहमन्त्री अर्यालले शरणार्थीको मानवअधिकारको विषयलाई नेपालले सम्मान गर्ने बताएका छन् ।

Published : Wednesday, 2025 October 29, 8:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया