कसैलाई महाधिवेशन लम्ब्याउँछन् भन्ने लागेको हो भने कार्यतालिका प्रकाशित गरौं : डा.प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र सबै मिलेर जानुको विकल्प नभएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा डा.महतले अहिल्यै महाधिवेशनको रडाको गरेर पार्टी एकजुट हुन नसक्ने बताए । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माप्रति लक्षित गर्दै डा.महतले अनुहार बदल्ने भनेर पार्टीभित्र कसैको त्याग तपस्यालाई अपमान नगर्न चेतावनी दिएका छन् ।

उनले भने, ‘अर्को एउटा कुरा आइराख्या छ । अनुहार चाहियो, अनुहार चाहियो । कुन चाहिँ अनुहार हो जसलाई क्याम्पेनमा पठाइदिऊँ ? पहिला पहिला पनि देखेकै हो उपनिर्वाचनमा सबैको ।’

उपनिर्वाचनका बेला महामन्त्रीद्वय थापा र शर्मालाई कमाण्ड दिएर चितवन र तनहुँमा कांग्रेसले पठाएको थियो । दुबै निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवार पराजित भएका थिए । दुबै क्षेत्रमा रास्वपाका उम्मेदवारहरू विजयी भएका थिए ।

को–को अनुहारको अनुहार नजानुपर्ने हो नामै किटेर भन्न पनि महामन्त्रीद्वय थापा र शर्मालाई प्रवक्ता डा.महतले सुझाव दिएका छन् । ‘उहाँहरू नै गए पनि को–को नजाने हो तपाईहरू नजानू भनौँ,’ डा.महतले भने ।

‘पार्टी बनाउने काम सबैले मिलेरै गर्नुपर्ने त होला नि ?’ भनेर डा.महतले प्रश्न गरेका छन् । ‘सबै मिलेर त गर्ने होला नि ? बनाउने र निर्वाचनमा भिड्ने,’ उनले भने, ‘साँच्चिकै हामी निर्वाचनमा गम्भीर हुने हो भने केन्द्रीय समितिले त्यसको निर्णय गरोस् ।’

कसैलाई महाधिवेशन लम्ब्याउँछन् भन्ने लागेको हो भने कार्यतालिका अहिल्यै नै प्रकाशित गर्न प्रवक्ता डा.महतले आग्रह गरेका छन् ।

‘वैशाख–जेठ कहिलेसम्म गर्ने, अहिल्यै क्रियाशील सदस्यता पुस–माघसम्म कहिले सकाउने हो ? क्रियाशील पनि हुँदै गर्छ चुनावको अभियानमा मान्छे पनि सक्रिय हुन्छ,’ प्रवक्ता डा.महतले भने । तर, पहिल्यै महाधिवेशन नभई नहुने भन्ने कुरा आफूले नबुझेको उनले बताएका छन् ।

Published : Wednesday, 2025 October 29, 8:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया