सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना, पाइलट सकुशल
काठमाडौं । अल्टिच्युड एयरको हेलिकप्टर सोलुखुम्बु जिल्लामा दुर्घटना भएको छ ।
बुधबार बिहान करीव सवा ८ बजे अवतरण गर्ने क्रममा सोलुखुम्बुको लबुचेमा हेलिकप्टर दुर्घटना भएको हो । हेलिकप्टरमा पाइलट खड्का मात्रै थिए । सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र थापाले हेलिकप्टरका पाइलट विवेक खड्का सकुशल रहेको बताएका छन् । पाइलट खड्का सकुशल रहेको र उनलाई लुक्ला ल्याइएको छ ।
बुधबार बिहान पाइलट खड्काले लुक्लाबाट फेरिचे र कोथेमा दुई वटा चार्टर उडान गरिसकेका थिए । लोबुचेका लागि उनको तेस्रो उडान थियो । लोबुचेमा दुई जना विदेशी बिरामी भएकाले उद्धार उडान गर्न खड्काले हेलिकप्टर लिएर पुगेका थिए । बाक्लो हिउँ र बादल थियो । हेलिप्याडहरूमा हिउँले छोपिएका थिए । ‘हेलिकप्टर अवतरण गराउँदा हातको संकेतले सघाउने मार्सलर कोही थिएनन् । हिउँमाथि अवतरण गर्ने बेला जहाजको सन्तुलन खलबलियो । पुनः माथि उठाउन सकिएन । हिउँमा जमिनमाथिको हेलिप्याड जस्तो हुँदैन । कमजोर वा बाक्लो हिउँको संरचना कसरी बनेको छ । त्यसले असर पार्छ । मैले हेलिकोप्टरको सन्तुलन खल्बलिनेबित्तिकै तेल बन्द गरेँ । ब्रेक पनि तानिदिएँ । त्यसैले आगो लाग्ने र थप क्षति हुन रोकियो,’ पाइलट खड्काले भने ।
पाइलट खड्कालाई शरीरमा कुनै घाउचोट लागेको छैन । खड्कालाई उद्धार गर्न लुक्लाबाट कैलाश एयरको हेलिकोप्टर पुगेको थियो ।
सोलुखुम्बुमा हिमपात भएको छ । बुधबार बिहान ०८ः१५ बजेतिर अवतरणका क्रममा हेलिकप्टर दुर्घटना भएको थियो । सोलुखुम्बुको जनजीवन हिमपातका कारण प्रभावित बनेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया