मुलुक र व्यवस्था जोगाउन सडक संघर्ष गर्छौ, दुर्गा-सुदनहरूले अस्तित्वमाथि नै धावा बोलिरहेका छन् : तरुण अध्यक्ष गुरुङ
काठमाडौं । नेपाल तरुण दलकन अध्यक्ष विद्वान गुुरुले सरकारविरुद्ध सडक आन्दोलनमा जाने चेतावनी दिएको छ ।
सोमवार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा आयाेजित नेपाल तरुण दलको स्थापना दिवसकाे कार्यक्रममा अध्यक्ष गुरुङले मुलुकमा व्यवस्था जोगाउन र आफूहरूको अस्तित्व रक्षाका लागि अब चुप लागेर बस्ने अवस्था नभएको बताए । उनले दुर्गा प्रसाईं, सुदन गुरुङहरूले आफूहरूको अस्तित्वमाथि नै धावा बोलिरहेको जिकिर गर्दै अब सडक संघर्षलाई अघि बढाउनका लागि तयार अवस्थामा रहन तरुण दलका नेता, कार्यकर्तालाई निर्देशन दिए । अध्यक्ष गुरुङले नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई झोलेको रुपमा चित्रण गर्ने काम भइरहेको भन्दै आक्रोश समेत व्यक्त गरेका छन् ।
अध्यक्ष गुरुङले भदौ २४ गते मुलुकमा भएको विध्वंस आफूहरूले रोक्न नसकेकोमा क्षमा माग्दै आगामी दिनमा त्यस्तो खालको अवस्था आउन नदिनका लागि सजग हुने समेत बताए ।
अध्यक्ष विद्वान गुरुङले जेन–जी आन्दोलनका नाममा नेताहरुमाथि भएको प्रहारको हिसाब–किताब हुने बताएका छन् ।
उनले सरकारी संरचना जलाउने, उद्योगपति, विभिन्न पार्टीका कार्यलय र नेताहरुको घर जलाउने र आक्रमण गर्नेहरूलाई छिटोभन्दा छिटो कारबाही गर्न सरकारालई आग्रह गरे । गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा केही सरकारमा नरहेका दल, राजावादीहरु र केही विदेशी दलालहरूको घुसपैठ रहेको उनले बताए ।
‘छिटोभन्दा छिटो जति पनि विभिन्न सरकारी संरचनाहरुमा, उद्योगपति, विभिन्न पार्टी कार्यालयहरू र हाम्रा नेताहरूको घरमा पेट्रोल बममार्फत जुन क्षति पुर्याइएको छ, यिनलाई छिटोभन्दा छिटो कारबाही होस् । होइन भने हाम्रा सबै नेताहरुमाथि, पार्टीमाथि कारबाही हुँदै जाँदा अब हामी चुप बस्दैनौं । २४ गतेको आन्दोलनमा यो सरकारमा नरहेको, सरकार बाहिर रहेका केही पार्टी, केही राजावादी, केही विदेशी दलालहरुले हाम्रा नेताहरुमाथि प्रहार गरेको छ । यसको हिसाबकिताब नेपाल तरुणदलले गर्नुपर्छ,’ उनले भने ।
उनले भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा भएका घटनाको सत्यतथ्य छानविन भएर दोषीमाथि कारबाही हुनुपर्ने बताए । तरुण अध्यक्ष गुरुङले अब मुलुकको व्यवस्था जोगाउने र आफ्नो अस्तित्व जोगाउने हो भने त्यस्ता तत्वका विरुद्ध सडकमा उत्रिनुको विकल्प नरहेको बताए । आगामी दिनमा कुनै पनि वादीहरुले गर्ने आन्दोलनका त्यस्ता प्रकारका हर्कत भएको खण्डमा चुप लागेर नबस्न उनले कार्यकर्तालाई निर्देशन दिए ।
‘यदि यो मुलुकको व्यवस्था जोगाउने हो भने, यदि तपाईँ हाम्रो अस्तित्व जोगाउने हो भने अब यिनीहरूको विरुद्धमा सडकमा भिड्ने नै हो । यो भन्दा अर्को विकल्प नै छैन । आउने दिनमा कुनै पनि वादीहरुले गर्ने आन्दोलनहरूमा नेपाल तरुण दल सजक रहने छ । तयारी अवस्थामा रहन पनि साथीहरूलाई हामी आग्रह गर्न चाहन्छौं,’– उनले भने ।
साथै, अहिलेको यो विषम परिस्थितिमा नेपाली कांग्रेसलाई एक ढिक्का बनाएर लैजान पनि उनले अग्रज नेताहरूलाई आग्रह गरे । उनले भने, ‘यो घडीमा हामी युवाहरू हाम्रा नेताहरूलाई हामी आग्रह गर्न चाहन्छौं– अहिलेको अवस्थामा नेपाली कांग्रेसलाई एकढिक्का बनाएर लैजान पनि हामी आग्रह गर्न चाहन्छौं ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया