पाँच एसएसपीलाई डीआईजी बढुवामा सिफारिस, वरिष्ठ हुँदाहुँदै चौधरी र अधिकारी छुटे

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस गरेको छ।

आइतबार बसेको गृह मन्त्रालय बढुवा सिफारिस समितिको बैठकले हाल रिक्त चार र तीन दिनपछि रिक्त हुने एक डीआईजीमा बढुवा गर्न सिफारिस गरेको सूचनामा उल्लेख छ ।

डीआईजीका लागि एसएसपीहरू भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले सिफारिस भएका छन् । उनीहरू सबै २०५६ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए ।

उनीहरूभन्दा वरियतामा अगाडि रहेका दुई एसएसपीहरूलाई भने सुशीला कार्की सरकारले छुटाएको छ । एसएसपीहरू शारदाप्रसाद चौधरी र विश्व अधिकारीलाई छुटाइएको छ । एसएसपीद्वय चौधरी र अधिकारी अगाडि थिए ।

एसएसपी अधिकारी जेनजी आन्दोलनका क्रममा काठमाडौं प्रहरी प्रमुख थिए । सरकार परिवर्तन भए लगतै अधिकारीलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारीबाट गृह मन्त्रालयले हटाएको थियो । अधिकारीलाई सरकारले जेनजी प्रदर्शनमा दमन गरेकाे अभियाेगमा बढुवामन छुटाएकाे टिकाटिप्पणी छ ।

चौधरी र अधिकारी बाहेक एसएसपीहरूको वरियता अनुसार नै बढुवा गरिएको छ । सरकारले वरीयतालाई मिचेकाे छैन ।

Published : Sunday, 2025 October 26, 11:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया