आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्युु

काठमाडौं । शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले शुक्रबार बिहान ०८ : २० बजे कीर्तिपुर वर्न अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जानकारी दिएका छन् ।

रसुवाको लहरेकुवा गाउँपालिका- २ घर भई काठमाडौंको दहचोक बस्दै आएकी पौडेल प्रेममा रहेकी थिइन् । गत शनिबार दिउँसो साढे २ बजेतिर स्टुडियोमा रहेकै अवस्थामा पौडेल आफैंले आफ्नो शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी थिइन् ।

गायिका पौडेलको ५५ प्रतिशत शरीरको भाग जलेको थियो । गिरीको म्युजिक स्टुडियोमा भेट भई दुबै जनाबीच आपसी विवादको कारणले पौडेलले आफ्नै शरीरमा आफैँले पेट्रोल छर्किएर आत्मादाहको प्रयास गरेकी प्रहरीको भनाई छ ।

घटनाबारे सोधपुछका लागि गायक बाबुल भनिने धनबहादुर गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । भट्टराईका अनुसार, घटनाको अनुसन्धान गर्नका लागि स्टुडियो सञ्चालक समेत रहेका गिरीलाई नियन्त्रणमा लिइएको छ । घाइते महिलाको परिवार, आफन्त र प्रत्यक्षदर्शीलाई पनि सोधपुछका लागि प्रहरीमा बोलाइएको छ ।

घटनामा गिरी पनि घाइते भएका छन् । उनको हात र खुट्टामा सामान्य जलेको छ । अनुसन्धान अधिकृतहरूले गिरीसँग घटना र कारणबारे सोधपुछ गरेका छन् ।

Published : Friday, 2025 October 24, 6:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया