ट्रककाे कागजपत्र चेकजाँच गर्दा ट्राफिकका असईलाई कुटपिट, टाउकामा टाँका लाग्याे

वीरगञ्ज । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रहरी सहायक निरीक्षक चन्द्रबहादुर सिंहमाथि गाडी कुटपिट भएको छ ।

बुधबार बिहान बाराको पथलैयास्थित राजमार्गमा सवारी जाँचका लागि खटिएका सिंहमाथि बिहान करिब ३ बजे ट्रकमा सवार एक १७ वर्षीय युवकले कुटपिट गरेका हुन् । जेनजीकाे प्रदर्शनपछि प्रहरीलाई कुटपिट र आक्रमण गर्ने घटनाहरू बढेका छन् । अराजकता मौलाएको छ ।

कुटपिटबाट प्रहरी सहायक निरीक्षक सिंहको टाउको चोट लागेको छ । सिंहको टाउकोमा लागेको घाउमा तीन वटा टाँका लागेको छ । उपचारपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । मधेश प्र.०३–००१ त ८९१४, मधेश प्र.०३–००१त ८११२ र मधेश प्र.०३–००१त ८८८५ नम्बरको ट्रक जाँच गर्ने क्रममा विवाद भएपछि पर्सागढी नगरपालिका ५ बस्ने ती युवकले असई सिंहमाथि हातपात गरेका हुन् ।

ट्रकमा धान काट्ने मेसिन लोड गरेर ल्याइएको थियो । असई सिंहले ट्रक रोकेर कागजपत्र जाँच गरिरहेका थिए । चेकजाँचका क्रममा विवाद भएपछि तीन वटामध्ये एउटा ट्रकमा सवार युवकले सिंहमाथि हातपात गरेका हुन् । युवकलाई सिमरास्थित इलाका प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ ।

घटनालगत्तै ट्राफिक प्रहरीले युवकलाई नियन्त्रणमा लिएर प्रहरी कार्यालयमा बुझाएको थियो । युवकलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिएका छन् ।

Published : Wednesday, 2025 October 22, 6:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया