गगन-विश्वप्रति लक्षित गर्दै नैनसिंहले भने– महाधिवेशनको कार्यतालिका फेसबुकमा आयो, कार्यसमितिमा आएन

धनगढी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले चालु केन्द्रीय समिति समक्ष वर्तमान विषम परिस्थितिमा जिम्मेवार पदाधिकारीका तर्फबाट १५औं महाधिवेशनको कार्यतालिका नआउनु दुखद् भएको बताएका छन् ।

आइतबार धनगढीमा नेपाल प्रेस युनियन, कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महरले समयमै महाधिवेशनको कार्यतालिका नआउँदा पदाधिकारीको कार्यक्षमतामाथि प्रश्न उठेको बताए । कांग्रेस विधानअनुसार पदाधिकारीहरूको कार्यविभाजन भएको तर समयमै आ–आफ्नो जिम्मेवारी पूरा गर्न नसक्दा १५औं महाधिवेशन समयमै सम्पन्न गर्न चुनौति देखिएको उनले बताए ।

‘निर्वाचन सम्पन्न गर्न पहिलो विषय नै क्रियाशील सदस्यता नवीकरण, वितरण र व्यवस्थापन भएकाले आजसम्म उक्त कार्य सम्पन्न गर्न नसक्दा महाधिवेशन समयमै नहुनेहोकि भन्ने संसय पैदा भएको छ,’ महरले भने, ‘त्यसैले अब महाधिवेशनको मिति तय गर्न ढिला गर्नु हुँदैन ।’

नेता महरले सामाजिक सञ्जालमा भन्दा पनि आधिकारिक रुपमा जिम्मेवार पदाधिकारीका तर्फबाट महाधिवेशनको कार्यतालिका केन्द्रीय समिति बैठकमा एथासक्य चाडो आउनु पर्ने बताएका छन् । महामन्त्री गगनकुमार थापाले केन्द्रीय कार्यसमितिको बैठकमा १५औँ महाधिवेशनको कार्यतालिका पेस गरेका छैनन् । थापाले सामाजिक सञ्जालमा १५औँ महाधिवेशनको कार्यतालिका भनेर राखेर बबाल गरिरहेका बेला नेता महरले कार्यतालिका केन्द्रीय समितिमा आउनुपर्ने माग गरे ।

उनले भने, ‘तीन पटक सांसद र मन्त्री भइसकेकाहरू, पूर्व र वर्तमान पदाधिकारीहरू, सरकार सञ्चालनको संयन्त्रमा बसेकाहरू र केपी ओलीको नेतृत्वमा बसेकाहरूले एक पटक कुलिङमा बस्नुपर्छ ।’

‘हामी ११ जना केन्द्रीय सदस्यले पहिले नै गठबन्धनको सरकार निर्माण गर्नु हुँदैन भनेर कांग्रेस बैठकमा फरक कुरा राखेका थियौं,’ उनले भने, ‘माओवादीसँगको गठबन्धन लामो जान्छ भन्ने प्रस्ताव पदाधिकारी तहबाटै आएको थियो । तर, गठबन्धन लामो समय जान सकेन । यस्ता विषयको आकलन गर्न नसक्नु पनि नेतृत्वको कमजोरी हो ।’

Published : Sunday, 2025 October 19, 12:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया