पोखरा विमानस्थलको १५ अर्ब भ्रष्टाचारबाट बच्न प्रदीपद्वारा भारतबाट तान्त्रिक आयात गरी २ घण्टा पूजा
काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा झण्डै १५ अर्ब भ्रष्टाचार भएको ठहरसहित सार्वजनिक लेखा समितिद्वारा कारबाही सिफारिसमा परेका नेपाल नागरिक उड्डय प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भारतबाट तान्त्रिकलाई मगाएर ग्रह शान्तिको पूजा गरेका छन् ।
महानिर्देशक अधिकारीले भदौ २९ गते बुधाबर प्राधिकरणको सिनामंगलस्थित केन्द्रीय कार्यालयमा भारतबाट झिकाइएका तान्त्रिकलाई ल्याएर पूजा गरेको उच्च स्रोतले जनाएको छ । अधिकारीले केन्द्रीय कार्यालयमा रहेको आफ्नो कार्यकक्षमा दुई घण्टासम्म पूजा गरेका थिए ।
पोखरा विमानस्थलको भ्रष्टाचार काण्डमा डामिएका महानिर्देशक अधिकारीलाई मुख्य नाइके बनाएर कारबाही सिफारिस भएको छ । यसअघि, लेखा समितिले महानिर्देशक अधिकारीसँगै पोखरा विमानस्थलको १५ अर्ब भ्रष्टाचार काण्डमा प्राधिकरणका निर्देशक ई.बाबुराम पौडेल, प्रबन्धक चाँदमाला श्रेष्ठ, प्रबन्धक राजेन्द्रप्रसाद पौडेल, प्रबन्धक विनेश मुनाकर्मी, पूर्वमहानिर्देशकद्वय सञ्जीव गौतम र राजन पोखरेललाई निलम्बनसहित कारबाही सिफारिस गरिसकेको छ ।
पोखराको १५ अर्ब भ्रष्टाचारमा महानिर्देशक अधिकारीलाई लेखा समितिले निलम्बन गरेर कारबाही सिफारिस गरेको छ । अधिकारी निकै शक्तिशाली छन् । अधिकारीलाई सुशीला कार्की नेतृत्वको सरकारले पनि हल्लाउन सकेको छैन ।
पोखरा विमानस्थलको भ्रष्टाचारसँग संलग्न फाइललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही दिन अगाडि कब्जा गरेर लगेको छ । अख्तियारले भ्रष्टाचारको मुद्दा चलाउने अन्तिम तयारी गरिरहेका बेला महानिर्देशक अधिकारी आत्तिएर भारतबाट तान्त्रिक बोलाएर आफ्नो कार्यकक्षमा पूजा गरेका छन् ।
महानिर्देशक अधिकारीले भारतीय तान्त्रिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म ल्याउनका लागि ईलेक्ट्रिक भ्यान पठाएका थिए । सोही भ्यानमा ती तान्त्रिकलाई गन्तव्यतर्फ पठाइएको थियो । यसअघि, पनि महानिर्देशक अधिकारीले केन्द्रीय कार्यालयमा रहेको आफ्नो कार्यकक्षमा भारतबाट तान्त्रिक बोलाएर पूजा गरिसकेका छन् । उनले बेलाबेला यस्तै पूजा गर्दै आएका छन् ।
महानिर्देशक अधिकारी निकटका उपनिर्देशक उत्सव खरेलले ईलेक्ट्रिक भ्यानमा ती भारतीय तान्त्रिकलाई ल्याउने र लैजाने कार्य गरेका थिए । खरेल उनी विवादित कर्मचारी हुन् जसले महानिर्देशक अधिकारीलाई प्रभावमा पारेर एटीएस सेवाको बढुवा हत्याउन सफल भएका थिए । आफूभन्दा सिनियर सुमोदप्रसाद चौधरीलाई पछाडि पारेर १० तहबाट ११ तहको बढुवा खाएका थिए ।
महानिर्देशक अधिकारीले कार्यसम्पादन मूल्यांकनका क्रममा खरेललाई पूरा नम्बर दिएका थिए । अधिकारीले चौधरीलाई शून्य नम्बर दिएका थिए । कार्यसम्पादन मूल्यांकनमा खरेल र चौधरीमाथि महानिर्देशक अधिकारीले विभेद गरेको प्रष्ट देखिन्छ ।
उजुरी परेपछि बोर्ड सञ्चालक समिति सदस्य एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकी सहसचिव ईन्दु घिमिरेको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन भएको थियो । समितिले रिपोर्ट बुझाइसकेको छ । अब बस्ने बोर्डको बैठकले निर्णय गर्नेछ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया