कांग्रेसका पूर्व केन्द्रीय सदस्य गौतमको निधन, शोक बनाउने निर्णय
काठमाडौं । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री ऋषिकेश गौतमको निधन भएको छ ।
शनिबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गौतमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव गरेको छ । कांग्रेसद्वारा जारी शोक वक्तव्यमा भनिएको छ, ‘नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा, नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्वमन्त्री, नेपाल विद्यार्थी संघका संस्थापक केन्द्रीय सदस्य एवं नेपाली कांग्रेस, बाराका पूर्व सभापति ८४ वर्षीय ऋषिकेश गौतमको असोज ३१ गते राति २१ः१५ बजे काठमाडौंको पेप्सीकोलास्थित निजी निवासमा भएको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दछ ।’
गौतम बिक्रम संवत् २०३६ देखि २०४८ सम्म बारा जिल्लाको सभापति, २०४८ र २०५६ मा बारा जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित र नेपाली कांग्रेस संसदीय दलको पूर्व सचिव हुन् ।
नेपालमा लोकतन्त्र स्थापना र पुनर्स्थापनाका आन्दोलनहरू र संघर्षका क्रममा उनले पटक–पटक जेल जीवन व्यतित गरेका थिए । गौतमले पार्टीको विभिन्न पदीय जिम्मेवारीमा रहेर नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।
‘ऋषिकेश गौतमको निधनबाट पार्टीले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको छ । नेता गौतमको आत्माको चिर शान्तिको कामना गर्दै केन्द्रीय कार्यसमितिको यो बैठक एक मिनेट मौन धारण गर्ने निर्णय गर्दछ,’ शोक वक्तव्यमा भनिएको छ, ‘दुःखको यस घडीमा शोक सन्तप्त परिवारजन र आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।’
कांग्रेसले गौतमप्रति उच्च सम्मान प्रकट गर्दै २०८२ कात्र्तिक १, २ र ३ गते (तीन दिनसम्म) पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
कांग्रेसले २०८२ कात्र्तिक २ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ । स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने निर्णय भएको कांग्रेसले जनाएको छ ।
स्वर्गारोहणको १३औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने निर्णय भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया