अख्तियारद्वारा वडाध्यक्षसहित ८ जनाविरुद्ध ७३ लाखको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कैलालीको जानकी गाउँपालिका वडा नं. ९ का वडाध्यक्ष खकेन्द्र भण्डारीसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

शुक्रबार आयोगले विशेष अदालत, काठमाडौंमा वडाअध्यक्ष भण्डारीसहित तत्कालीन वडासचिव प्रेमबहादुर बुढा, कार्यालय सहयोगी सोनम कठरिया, खरिदार पूर्णबहादुर विष्टविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको विज्ञप्तिमा उल्लेख छ । सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमिता गरेको आरोपमा आयोगले उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ ।

वडा सदस्यहरू कल्पना खड्का, सुनकोसा सार्की, विजयबहादुर रावल र शेरबहादुर विश्वकर्मालाई पनि मुद्दामा प्रतिवादी बनाइएको छ । उनीहरूविरुद्ध ७३ लाख ३७ हजार ६२७ मूल्य बराबरको बिगो माग गरिएको अख्तियारले जनाएको छ ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार आर्थिक वर्ष २०७४÷०७५ देखि २०७७÷०७८ को दोस्रो चौमासिकसम्म मृतक व्यक्तिहरूको नाममा समेत सामाजिक भत्ता वितरण गरिएको, एउटै नागरिकता नम्बरबाट दोहोरो लाभग्राही अभिलेख तयार पारिएको र नवीकरण नै नभएका लाभग्राहीका नाममा रकम भुक्तानी गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

प्रतिवादीहरूले बदनियत राखी सरकारी सार्वजनिक सम्पत्तिको हिनामिना गरे गराएको कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ समेतको कसूरजन्य कार्य गरेको अख्तियारको दावी छ ।

Published : Friday, 2025 October 17, 8:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया