प्रतिशोधमा सुशीला सरकार, राजदूत फिर्ता गर्नाले अन्तर्राष्ट्रिय सम्बन्धमा प्रतिकूल असर : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्व परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले छिनछिनमा विभिन्न देशमा रहेका नेपाली राजदूतहरूलाई फिर्ता बोलाउँदा अन्तर्राष्ट्रिय सम्बन्धमा प्रतिकूल असर पर्ने देखिएको टिप्पणी गरेका छन् ।

शुक्रबारको पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै डा.महतले भने, ‘विभिन्न देशमा रहेका राजदूतहरू फिर्ता गरिएको छ । छिनछिनमा राजदूतहरू फिर्ताको कारण अन्तर्राष्ट्रिय सम्बन्धमा पनि धेरै प्रतिकूल असर पर्ने कुराहरू पनि आएको छ ।’

कांग्रेस प्रवक्ता डा.महतले अहिले सम्पूर्ण शक्ति र ऊर्जा निर्वाचनमा खर्चिनु पर्नेमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की प्रतिशोध साँध्नेतर्फ लागेको आरोप लगाएका छन् ।

उनले शान्ति सुरक्षा सुनिश्चित गर्ने कुराप्रति सरकार गम्भीर नभएको बताए । डा.महतले सरकारले निर्वाचन गर्ने विश्वसनीय आधार बनाउनुपर्ने बताएका छन् ।

‘दलीय प्रतिनिधिहरूले निर्वाचन आयोगमा कुराहरू राख्नु भएको छ । अब निर्वाचन आयोगले कार्यतालिका ल्याएर मात्रै निर्वाचन हुँदैन,’ डा.महतले भने, ‘त्यसका लागि सरकारले शान्तिसुरक्षाको प्रत्याभूति सुरक्षित हुने वातावरण बनाउनु पर्छ । बैठकमा साथीहरूले पनि यस विषयमा गम्भीर रूपमा कुरा उठाउनु भएको छ ।’

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले विभिन्न देशका राजदूतहरूलाई शुक्रबार फिर्ता बोलाउने निर्णय गरेको छ । सुशीला सरकार प्रतिशोधमा उत्तिएको भन्दै कांग्रेसले विरोध जनाएको छ ।

Published : Friday, 2025 October 17, 7:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया