हेडक्वाटरमा ७०औं प्रहरी दिवसको अवसरमा विशेष कार्यक्रम, उत्कृष्ट प्रहरीहरूलाई पुरस्कार

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीप्रति जनताको अपेक्षाको बढोत्तरीसँगै हर चुनौतीलाई अवसरमा बदल्न सक्ने सक्षम प्रहरी नै आजको आवश्यकता रहेको बताएका छन् ।

शुक्रबार प्रहरी प्रधान कार्यालय, नक्सालमा ७०औं प्रहरी दिवसको अवसरमा आयोजित श्रद्धाञ्जलि समारोहलाई सम्बोधन गर्दै अर्यालले आधुनिक प्रविधिसँग प्रभावकारी मिश्रण गरी छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्नुपर्ने बताए ।

गृहमन्त्री अर्यालले अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक कृष्णबहादुर रानालाई ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ प्रदान गरेका छन् । अर्यालले जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टलाई ‘पूर्ण शान्ति पुरस्कार’, नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीलाई ‘मोतीलाल सर्वोत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार’ र नेपाल प्रहरी अनाश्रित गुल्म डिल्लीबजारका प्रहरी निरीक्षक दुर्गा राईलाई ‘योगेन्द्र स्मृति साहसिक पुरस्कार’ प्रदान गरेका छन् ।

गृहमन्त्री अर्यालले सुनसरीको इनरूवा नगरपालिका–१ का अमर प्रहरी स्व.प्रहरी हवल्दार बेदराज भण्डारीकी छोरी वेनिका भण्डारी र मोरङ रतुवामाई नगरपालिका–५ का अमर प्रहरी स्वर्गीय प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको छोरा निखिल ठाकुरलाई अच्युत–मीना अमर प्रहरी पुरस्कार तथा बैतडीको शिवनाथ गाँउपालिका–२ का अमर प्रहरी जवान शेरसिंह साउदका छोरा अनिल साउद र अछामको बान्नीगढी जयगढ गाँउपालिका–५ का अमर प्रहरी जवान रामबहादुर साउदकी छोरी नवीना साउदलाई अच्युत–मीना अमर प्रहरी छात्रवृत्ति प्रदान गरेका छन् ।

नुवाकोटको विदुर नगरपालिका–११ का अशक्त प्रहरी नायव निरीक्षक हितबहादुर तामाङकी छोरी आशिका लामा र सर्लाहीको विष्णु गाउँपालिका–६ का अमर प्रहरी जवान विन्देश्वर साहको छोरा अनजयकुमार साहलाई मोतीकला मिथिला अमर प्रहरी छात्रवृत्ति गृहमन्त्री अर्यालले प्रदान गरेका छन् ।

गृहमन्त्री अर्यालले नेपाल प्रहरी प्रधान कार्यालयस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुको साथै कर्तव्य पालनाको क्रममा वीरगति प्राप्त गर्ने अमर प्रहरीका आश्रित परिवारहरूलाई कदरपत्र प्रदान गरेका छन् । उनले “प्रहरी दर्पण २०८२” को लोकार्पण एवम् नेपाल प्रहरीलाई निःशुल्क जग्गा प्रदान गर्ने जग्गादाताहरूको नामावली तथा अमर प्रहरीसँग सम्बन्धित स्थापना भएका अक्षयकोषहरूको विवरण समेटिएको “प्रहरी स्मारिका, २०८२” को लोकार्पण समेत गरेका छन् ।

प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ्ग र नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष भावना श्रेष्ठ खापुङ्गले अमर प्रहरीका परिवारहरूलाई सद्भाव सहयोग प्रदान गरेका छन् ।

प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङ्गले नेपाल प्रहरी नेपालको संविधान प्रचलित ऐन कानून र मानवअधिकारका अन्तर्राष्ट्रिय मापदण्ड समेतले निर्दिष्ट गरेको आफ्नो कर्तव्य र उत्तरदायित्व प्रति सांगठनिक रूपमा पूर्णत निष्ठावान रहँदै आएको बताए ।

उनले हालको राजनीतिक परिवर्तनको परिस्थिति र आगामी दिनहरूमा समेत उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र असहज परिस्थितिहरूको सामना गर्दै आमनागरिकलाई शान्ति सुरक्षा र अमन चयनको प्रत्याभूति दिलाई नागरिक भरोसाको केन्द्र बिन्दुमा रहन नेपाल प्रहरी व्यावसायिक रूपमा सक्षम तथा प्रतिबद्ध रहेको बताएका छन् ।

खापुङ्गले राज्यले निर्देशित गरेका नीति तथा आफ्नो आधारभूत दायित्वबाट नेपाल प्रहरी कहिले विमुख नभएको र विमुख हुने कल्पना समेत गर्न नसकिने उल्लेख गरेका छन् । उनले सांगठनिक सुदृढीकरण, आधुनिकीकरण र स्रोत साधनको उपलब्धता प्रहरीको मनोबल र सशक्तिकरणसँग जोडिएको हुँदा यी विषयहरू नेपाल सरकार र तालुक गृह मन्त्रालयबाट उच्च प्राथमिकता साथ सम्बोधन हुने विश्वास व्यक्त गरेका छन् ।

Published : Friday, 2025 October 17, 1:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया