काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई श्रीमती संघद्वारा कम्प्युटरहरू हस्तान्तरण
काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीलाई नेपाल प्रहरी श्रीमती संघले कम्प्युटर, प्रिन्टर तथा यूपीएस हस्तान्तरण गरेको छ ।
रानीपोखरीस्थित कार्यालयमा बुधबार आयोजित कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष भावना श्रेष्ठ खापुङले हस्तान्तरण गरेकी हुन् ।
श्रीमती संघद्वारा सञ्चालित आसरा सुधार केन्द्रको २९औँ वार्षिकोत्सवको अवसरमा कार्यालय सञ्चालनका लागि कम्प्युटर, प्रिन्टर तथा यूपीएस हस्तान्तरण गरिएको अध्यक्ष खापुङले बताएकी छिन् ।
भदौ २३ र २४ गते उपत्यकाका विभिन्न ठाउँहरूमा आन्दोलन तथा प्रदर्शनका क्रममा तोडफोड, आगजनीमा परेका नेपाल प्रहरीका विभिन्न कार्यालयहरूमा पुगेको क्षतिलाई मध्यनजर गर्दै नेपाल प्रहरी श्रीमती संघको तर्फबाट काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई सामग्रीहरू हस्तान्तरण गरिएको हो ।
नेपाल प्रहरी श्रीमती संघले प्रदान गरेको सामग्रीहरूमा कम्प्युटर – ५ थान, प्रिन्टर – ५ थान सहित यूपीएस रहेको प्रेस नोटमा उल्लेख छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले नेपाल प्रहरी श्रीमती संघले विगतको समयमा पनि विभिन्न प्राकृतिक विपत्तिबाट पीडित परिवार तथा समुदाय लगायत पिछडिएको क्षेत्रमा आवश्यक सहयोग गरेको स्मरण गरेका छन् ।
नेपाल प्रहरी हरेक विषम् परिस्थितिमा अग्रपंक्तमा खटिने राज्यको अंगको रुपमा रहेकाले समाजमा प्रहरीको आवश्यकतालाई बोध गरी यस विषम् परिस्थितिमा सहयोग गरेकोमा एआईजी कार्कीले नेपाल प्रहरी श्रीमती संघलाई धन्यवाद व्यक्त गरेका छन् ।
नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष भावना श्रेष्ठ खापुङले नेपाल प्रहरी परिवारको एकताको रुपमा रहेको नेपाल प्रहरी श्रीमती संघको तर्फबाट हरेक समयमा देश र नागरिकको सेवामा खटिने नेपाल प्रहरीलाई सहयोग प्रदान गर्न पाएकोमा खुसी व्यक्त गरेकी छिन् । उनले आगामी दिनहरूमा समेत नेपाल प्रहरीलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।
कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी महासचिव नवीना कार्की, नेपाल प्रहरी श्रीमती संघ तथा आसरा सुधार केन्द्रका पदाधिकारीहरू, प्रहरी वरिष्ठ अधिकृतहरू लगायत अन्य प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया