अख्तियारद्वारा ईञ्जिनियरसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय, सिरहा लहानका तत्कालीन डिभिजनल ईञ्जिनियर रविन्द्रलाल दाससहित ४ जनाविरुद्ध अभियोग पत्र दायर गरेको छ ।

बुधबार आयोगले दासहित ४ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचारको मुद्दा दर्ता गराएको हो । आयोगले ईञ्जिनियर दाससहित तत्कालीन ईञ्जिनियर शैलेन्द्रकुमार चौधरी, सब–ईन्जिनियर चन्द्रकान्त चौधरी र रब्बानी कन्सट्रक्सनका प्रोपाइटर जफिर कवारीविरुद्ध मुद्दा दायर गरेको विज्ञप्तिमा उल्लेख छ ।

आयोगले दासहित चारजनाविरुद्ध २ करोड ३४ लाख ९९ हजार ९४५ रुपियाँ बिगो दाबी गरेको छ । सिरहाको कल्याणपुर नगरपालिका–५ मा प्रदेश सरकारको योजनामा गाढा–चिकना सडक डिभिजन लहानले निर्माण व्यवसायीलाई काम गराउन दिएको सडक ढलान गर्दा ३ करोड बारबरको गुणस्तरहीन सामग्री प्रयोग गरी मनोमानी ढङ्गले अनिमियतता गरेको उजुरीको आधारमा आयोगले अनुसन्धान गरेको थियो ।

सडक ढलान गर्नका लागि जय धनञ्जय ररब्बानी जेभी बालाजुलाई ३ करोड ४९ लाख ६१ हजार ६३८ रुपियाँमा ३० चैत २०७७ सालमा सम्पन्न गर्ने गरी २१ असार २०७७ मा ठेक्का दिएको थियो ।

अनुसन्धानको क्रममा सम्झौता विपरीत तोकिएको गुणस्तरभन्दा कम गुणस्तरको निर्माण सामग्री प्रयोग गरी भुक्तानी लिएको पाइएपछि मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

Published : Wednesday, 2025 October 15, 9:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया