जेनजी आन्दोलनका बेला चोरी गर्ने विजय लामा पक्राउ, बुद्ध, गणेशका मूर्तिहरू बरामद

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बुद्धको मूर्तिसहितका सामग्रीहरू चोरी गर्ने २९ वर्षीय विजय लामालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी बृत्त नयाँ बनेश्वरले तेजबहादुर लामाका छोरा विजय लामालाई पक्राउ गरिएको विज्ञप्तिमार्फत जनाएको छ । चितवनको कालिकानगर नगरपालिका वडा नं. ६ टाँडी स्थायी घर भएका विजय लामा हाल काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं. ६ च्यासिन टोलमा बस्दै आएका छन् ।

भदौ २४ गतेको आन्दोलनका क्रममा विजय लामाले बुद्ध मूर्ति थान १, गणेशको मूर्ति अकित शंख जस्तो थान १, गणेशको मूर्ति थान–१, सिङगिङ्ग बल थान १ र आईफोन प्रोम्याक्स १४ थान १ चोरी गरेको प्रहरीले जनाएको छ । ती सामानहरू लिनका लागि सम्बन्धित व्यक्तिलाई ९७४६९५२०८२ मा प्रहरीलाई सम्पर्क गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी प्रमुख (एआईजी) दानबहादुर कार्कीले अनुरोध गरेका छन् ।

एआईजी कार्कीले काठमाडौं उपत्यकामा आन्दोलनका क्रममा विभिन्न व्यक्तिका साथै सार्वजनिक स्थानमा लुटपाट भएका सामग्रीहरू स्थानीय प्रहरीलाई बुझाउन आग्रह गरेका छन् । अन्यथा कारबाही गरिने उनले बताए ।

Published : Wednesday, 2025 October 15, 8:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया