भारत, अमेरिका, चीन, रसियामा ८० वर्षका नेताहरू छन्, राजनीतिमा पुस्ता हुँदैन, उमेर हुँदैन : चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजनीतिमा पुस्ता नहुने बताएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा पत्रकारहरूसँग कुरा गर्दै भण्डारीले भने, ‘के हो राजीनामा भनेको ? के हो पुस्ता भनेको ? राजनीतिमा पनि कुनै पुस्ता भन्ने हुन्छ ? राजनीतिक नेतृत्वमा कुनै पुस्ता भन्ने हुन्छ ? जोसित सपना छ उ राजनीतिमा युवा हुन्छ । जोसँग सपना छैन त्यो युवा हुँदैन ।’

पत्रकारहरूले युवा पुस्तालाई पार्टीको नेतृत्व दिन कहिले राजीनामा दिनु हुन्छ भनेर गरिएको प्रश्नको जवाफमा नेता भण्डारीले राजनीतिमा पुस्ता नहुने र जो नेतासँग सपना हुन्छ त्यो नै नेता र नेतृत्व भएको बताए । उनले युवासँग सपना हुँदैन त्यो नेता हुन नसक्ने बताए ।

सभापति शेरबहादुर देउवाले कहिले राजीनामा दिनु हुन्छ भन्ने प्रश्नको जवाफमा नेता भण्डारीले भने, ‘निहुँ खोज्ने कुरा नगरौँ ।’

भारत, अमेरिका, चीन, रसियामा ८० वर्षभन्दा माथिका उमेरका नेताहरूलाई नेता मानेको उदाहरण दिँदै कांग्रेस नेता भण्डारीले राजनीतिमा उमेरको कुरा नहुने बताए ।

उनले भने, ‘भारतमा ८० वर्षको मान्छेलाई नेता मानेर हिँड्ने । चीनमा ८० वर्षकालाई नेता मानेर हिँड्ने । रसियामा ८० वर्षकालाई नेता मानेर हिँड्ने । अमेरिकामा ८४ वर्षमा लागेकालाई नेता मानेर हिँड्ने । उमेरका कुरा गर्ने की सपनाका कुरा गर्ने ?’

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले युवा पुस्तालाई कांग्रेसको नेतृत्व दिनुपर्ने भनेर माग गरिरहेका बेला नेता भण्डारीले राजनीतिमा पुस्ता वा उमेरको कुनै अर्थ नहुने नेता बन्न सपना हुनुपर्ने बताए ।

Published : Tuesday, 2025 October 14, 2:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया