तयारी गर्नुपर्ने भएपछि कांग्रेसको केन्द्रीय समिति बैठक पछाडि धकेलियो

काठमाडौं । तयारी गर्नुपर्ने भएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक दुई दिन पछाडि सारिएको छ ।

कांग्रेसको कार्यसमितिको बैठक असोज २८ गते बस्ने प्रवक्ता डा.प्रकाशशरण महतले बताएका छन् । असोज २६ गतेदेखि शुरु हुने भनिएको बैठक अब २८ गते बस्नेछ ।

असोज २३ बाट शुरु भएको पदाधिकारी, पूर्वपदाधिकारी एवम् कार्यसम्पादन समितिको बैठक शनिबार सम्पन्न भएको छ ।

पदाधिकारी र कार्यसम्पादन समितिको बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता डा.महतले भने, ‘हालको बैठकमा महत्वपूर्ण विषयमा छलफल भएको छ । भदौ २३ र २४ को घटनाले राष्ट्रिय राजनीतिसँगै पार्टीको जीवनमा समेत अत्यन्तै प्रभाव पारेको विषयमा गम्भीरताका साथ छलफल भयो ।’

‘घोषित निर्वाचन र संसद् पुनः स्थापनाका विषयमा समेत छलफल भएको छ’, डा.महतले भने, ‘पार्टी महाधिवेशन पनि विधिसम्मत रूपमा प्रक्रिया पु¥याएर युवाहरूलाई समेटेर गर्ने विषयमा समेत केन्द्रीय कार्यसमितिमा छलफल गर्ने तय भएको छ ।’

उनले भने, ‘निर्वाचनका सन्दर्भमा सरकारले गम्भीरताका साथ काम गर्न सकेको छैन भन्ने हाम्रो बुझाइ छ । निर्वाचनका सन्दर्भमा अन्यौलता धेरै छन् ।’

Published : Saturday, 2025 October 11, 7:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया