गगन–विश्व–प्रदीपले लिएको हस्ताक्षर कांग्रेस विभाजनमा प्रयोग हुन सक्ने, युवाहरूद्वारा नियमित महाधिवेशनमा सुझाव

काठमाडौं । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीभित्र बिग्रह ल्याउने गरेर गतिविधि गरिरहेका बेला नेपाली कांग्रेसका युवा नेताहरूले नियमित महाविधेशनमा जोड दिएका छन् ।

शनिबार काठमाडौंमा जम्मा भएका कांग्रेसका युवा नेताहरूले १५औँ महाधिवेशन समयमा हुनुपर्ने माग राखे । उनीहरूले विशेष महाधिवेशनको अहिले आश्यक्ता नरहेको बताएका छन् । पार्टी सभापति शेरबहादुर देउवा र नेतृ डा.आरजु राणालाई घरमा बसेका बेला हत्या गर्ने उद्देश्यले सांघातिक आक्रमण भएको बेला कांग्रेसको नेतृत्व हत्याउन केही पदाधिकारीहरू विशेष महाधिवेशनको नाममा बहाना बनाएर धमिलो पानीमा माछामार्न खोजेको भन्दै युवा नेताहरूले चिन्ता जनाएका छन् । यस्ता स्वार्थ बोकेका समूहलाई देशभरिका कार्यकर्ताले चिन्न जरुरी रहेको उनीहरूले आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको निर्वाचन मिति घोषणा भइसकेको अवस्थामा विशेष महाधिवेशन गरेर जाँदा पार्टीमा ठूलो क्षति हुने नेताहरूले बताएका छन् । विशेष महाविधेशनमा संकलन गरिएको हस्ताक्षर पार्टी विभाजनमा प्रयोग हुन सक्ने भनेर कांग्रेसका युवा नेताहरूले चिन्ता जनाएका छन् ।

जेनजी पुस्ताको आन्दोलनका क्रममा घुसपैठ हुँदा राज्यले ठूलो क्षति व्यहोर्नु परेको भन्दै युवा नेताहरूले सबैभन्दा पहिला कांग्रेसभित्र एकताको सन्देश आवश्यक्ता रहेको बताएका छन् । उनीहरूले पहिला कांग्रेसलाई एकताबद्ध बनाएर राष्ट्रिय राजनीतिलाई निकास दिएर पार्टीको नेतृत्व लिनेतिर जानुपर्ने धारणा राखेको एक नेताले बताएका छन् ।

Published : Saturday, 2025 October 11, 2:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया