पदाधिकारीहरूसँग बलबहादुरले सोधे– सभापतिमाथि आक्रमण हुँदा कांग्रेस, नेविसंघ र तरुण दल कता छ ?

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले सभापति शेरबहादुर देउवामाथि सांघातिक हमला गर्दासम्म तरुण दल र नेविसंघ कहाँ हरायो भनेर गम्भीर प्रश्न उठाएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी, पूर्वपदाधिकारी र प्रभावशाली नेताहरूको बैठकमा सम्बोधन गर्दै नेता केसीले भने, ‘यत्रो घटना पार्टी सभापति शेरबहादुर देउवामाथि हुँदा खै कहाँ हरायो नेविसंघ ? कहाँ हरायो तरुण दल ?’

सभापति देउवामाथि आक्रमण गर्दा समेत पार्टीले उपयुक्त कदम उठाउन नसकेको भन्दै नेता केसीले चिन्ता जनाए । उनले यो आक्रमणप्रति पार्टीले उचित निर्णय लिएर कदम उठाउनुपर्ने बताए । अहिले भएको आक्रमण र हिंसाप्रति संकेत गर्दै उनले संगठन निर्माणको कुरा पनि उठाएका छन् ।

केसीले भने, ‘यती ठूलो घटना हुँदा खै पार्टी ? पार्टीले केही काम गरेन । यो पार्टी नै बिघटन गर्नुपर्छ । यो विषयमा कार्य सम्पादन समितिले निर्णय गर्ने हो की होइन ?’ नेता केसीले सभापति देउवामाथि भएको आक्रमण र घटनाप्रति गम्भीर रुपमा प्रश्न उठाएपछि उपसभापति पूर्णबहादुर खड्काले पदाधिकारी र कार्य सम्पादन समितिले केन्द्रीय कार्यसमितिका लागि एजेण्डा तय गर्ने हो भनेर गोलमटोल जवाफ दिएको स्रोतले जनाएको छ ।

नेता केसीले केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यहरूलाई बोल्नका लागि खुला छाड्न सुझाव दिए । उनले केन्द्रीय सदस्यहरूले राखेका धारणालाई लिएर निर्णय गर्नुपर्ने सुझाव दिएका छन् ।

नेता केसीले नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सभापति देउवा र नेतृ डा.आरजु राणामाथि घरमै प्रवेश गरी हिंसात्मक समूहले ज्यान लिने गरेर आक्रमण गर्दा समेत तरुण दल र नेविसंघले चुपचाप लागेर रमिता हेरेर बसेको भन्दै कडा शब्दमा प्रश्न उठाएका छन् ।

नेता केसीले विशेष महाधिवेशनका लागि आफूले हस्ताक्षर नगरेको बताए । उनले भने, ‘मैले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेको छैन । विशेष महाधिवेशन गर्ने की नियमित महाधिवेशन गर्ने जे गरे पनि सहमतिमा गरौँ । निर्वाचन आउन लागेको छ । एक भएर जानुपर्छ ।’

Published : Saturday, 2025 October 11, 2:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया