कांग्रेसले गगनलाई दिएको जिम्मेवारी कहिले पूरा गर्ने ? कसरी हुन्छ विशेष वा नियमित महाधिवेशन ?

काठमाडौं । पार्टीले दिएका जिम्मेवारी र समस्याहरू समयमा समाधान नै नगरी नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको माग गरिरहेका छन् ।

थापा र शर्माले जिम्मेवारीपूर्ण तरिकाले कार्य सम्पादन नगरेका कारण विशेष महाधिवेशन त परै जाओस् नियमित महाविधेशन पनि हुने सम्भावना निकै न्यून छ । सबैभन्दा पहिला थापाले आफ्नो जिम्मेवारी पूरा गरेर प्रतिवेदन सभापति शेरबहादुर देउवा समक्ष बुझाउनु पर्छ । ‘ईफ’, ‘बट’ केही नभनेर महामन्त्री थापाले क्रियाशील सदस्यताको विवाद समाधानको प्रतिवेदन बुझाउनुपर्छ । होइन भने नियमित महाधिवेशन पनि समयमा नहुन सक्छ । आफ्नो जिम्मेवारी पूरा नगर्ने हत्या प्रयासबाट बालबाल बाँचेका सभापतिलाई निरन्तर अट्याक गर्ने कार्य कांग्रेसका कार्यकर्ताले राम्रोसँग बुझेका छन् ।

महामन्त्रीद्वय थापा र शर्मा पार्टीको संगठन प्रमुख पनि हुन् । उनीहरूले नै तयार पार्ने दस्तावेजका आधारमा कांग्रेस चल्ने हो । पार्टीले दिएको जिम्मेवारी समयमा पूरा नगर्ने, अनि विशेष महाविधेशन माग गरेर अबैधानिक तरिकाले नेतृत्व हत्याउने प्रयास गर्दैमा कांग्रेसका कार्यकर्ताहरूले कसरी मान्छन् ?

१५औँ महाधिवेशन गर्ने हो भने सबैभन्दा पहिला क्रियाशील सदस्यताको विवाद समाधान र भ्रातृ संस्थाहरूको अधिवेशन सम्पन्न गर्नुपर्ने हुन्छ । भ्रातृ संस्थाहरूको अधिवेशन गर्न निर्देशन समितिहरू बनेका छन् । महामन्त्रीद्वय थापा र शर्माले भ्रातृ संस्थाहरूको अधिवेशन समेत गराउन सकेका छैनन् ।

नियमित अधिवेशनका लागि आवश्यक पर्ने कार्य सम्पादन समेत गर्न नसकेका महामन्त्रीद्वय थापा र शर्मालाई अहिले नै विशेष महाविधेशन चाहिएको छ । उनीहरूले सभापति शेरबहादुर देउवामाथि सबै दोष थोपरेर भाग्न खोजेका छन् ।

विशेष वा नियमित महाधिवेशन गर्नुभन्दा अगाडि क्रियाशील सदस्यताको विवाद टुङ्गो लगाउनुपर्छ । धेरै जिल्लाहरूमा विवाद छन् । क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान गर्न कांग्रेस केन्द्रीय कार्यसमितिले महामन्त्री थापालाई जिम्मेवारी दिएको छ । जिम्मेवारी पाएका थापाले विवाद समाधान गर्न सकिरहेका छैनन् ।

पार्टीले महामन्त्री थापाको नेतृत्वमा कांग्रेसमा क्रियाशील सदस्यता व्यवस्थापन समिति बनाएको थियो । समितिको सदस्यहरूमा सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली छन् ।

बेलाबेला समितिको बैठक बसे पनि महामन्त्री थापाले क्रियाशील सदस्यताको समस्या समाधान गर्न धेरै रुचि देखाएका छैनन् । क्रियाशील सदस्यताको विवाद समाधान नै नगरेर महामन्त्री थापा विशेष महाधिवेशनमा जान खोजेका छन् ।

महामन्त्री थापालाई कांग्रेसको सभापति बन्न हतार भएको छ । आफै संयोजक रहेको समितिलाई नेतृत्व गर्न नसकेका थापाले कांग्रेसको सभापति बन्ने तिब्र चाहना र इच्छा बोकेका छन् ।

कांग्रेसले साधारण र क्रियाशील गरी दुई खालका सदस्यता बाँड्छ । साधारण सदस्य (कांग्रेसको सदस्यता) लिएको कम्तीमा वर्ष दिनपछि मात्रै क्रियाशील सदस्यताका लागि फारम भर्न पाउने व्यवस्था छ ।

यति महत्वपूर्ण क्रियाशील सदस्यता नवीकरण र वितरणकै काममा महामन्त्री थापा तदारूकताका साथ नलाग्दा १५औँ अधिवेशनदेखि महाधिवेशनसम्म धकेलिने परिस्थिति बन्दैछ । यो परिस्थिति सिर्जना गर्नुमा मुख्य भूमिका महामन्त्री थापाको रहेको छ । थापाले क्रियाशील सदस्यताको विवाद समाधान नै नगरेर विशेष महाधिवेशन गराउँदा त्यसको फाइला लिने अर्थात् धमिलो पानीमा माछा मार्ने योजनामा छन् ।

महामन्त्री थापा नेतृत्वको समितिले क्रियाशील सदस्यता विवाद समाधान गरेर ल्याउने प्रतिवेदन सभापति शेरबहादुर देउवालाई बुझाउनु पर्ने निर्देशन छ । समितिको प्रतिवेदनलाई सभापति देउवाले कांग्रेसको केन्द्रीय समितिमा राखेर अनुमोदन गर्नुपर्ने हुन्छ । महामन्त्री थापा विवाद समाधानतिर भन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थमा केन्द्रित हुँदा कांग्रेसको १५औँ महाविधेशन भताभुङ्ग हुने अवस्थामा पुगेको छ । क्रियाशील सदस्यता विवादको दोष आफूमाथि आउने देखेपछि महामन्त्री थापाले विशेष महाधिवेशन भनिरहेका छन् ।

महामन्त्री थापा नेतृत्वको समितिले क्रियाशील सदस्यता वितरणको विवाद समाधान गरेर प्रतिवेदन ल्याउन नसक्ने हो भने १५औँ महाधिवेशन समयभित्र हुने सम्भावना पनि छैन । यसको सम्पूर्ण दोष र जिम्मेवारी महामन्त्री थापाले लिनुपर्ने नेताहरूको भनाइ छ ।

केन्द्रीय कार्यसमितिले विश्वास गरेर दिएको जिम्मेवारी महामन्त्री थापाले सममा पूरा गर्नुपर्दैन ? सभापति देउवालाई सबै कुरामा दोषी देखाएर पन्छिन मिल्छ ? जवाफदेहिता गगन र विश्वमा पनि हुनुपर्छ ।

सोलुखुम्बु जिल्लामा क्रियाशील सदस्यता नवीकरणका लागि केन्द्रीय कार्यालयबाट फारम पठाए पनि नवीकरणको कामको सुरूवात हुन सकेको छैन । खोटाङमा अनुशासन कारबाहीका विषयलाई लिएर क्रियाशील सदस्यता नवीकरणको काम प्रभावित बन्न पुगेको छ ।

सप्तरी, सर्लाहीको क्षेत्र नम्बर ४, बाराको क्षेत्र नम्बर १ र ३, पर्साको क्षेत्र नम्बर १, रौतहटको क्षेत्र नम्बर १ र २ मा क्रियाशील सदस्यता नवीकरणका काममा विवाद सिर्जना भएर प्रभावित बनेको छ ।

रूपन्देही क्षेत्र नम्बर ४, कपिलवस्तु क्षेत्र नम्बर ३, रूकुम पूर्वमा क्रियाशील सदस्यता वितरण सुस्त छ भने विभिन्न विवादका कारण प्रभावितसमेत बनेको छ ।

मुस्ताङमा क्रियाशील सदस्यता फारम नै नलगेको अवस्था छ । मनाङमा २५ प्रतिशत थप क्रियाशील फारम माग भएको छ । काठमाडौंका अधिकांश वडामा पुराना क्रियाशील सदस्यता विवाद कायमै छ । रामेछाप र सिन्धुपाल्चोकमा क्रियाशील नवीकरण पूरा प्रभावित बनेको अवस्था छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर २, ६, ८ र ११ मा क्रियाशील सदस्यताको पुरानो विवाद हल हुन सकेको छैन । कैलाली जिल्लामा क्रियाशील सदस्यतासम्बन्धी विवाद देखा परेको छ ।

कांग्रेसको विधानअनुसार चार वर्ष अन्तरालमा १५औं महाधिवेशन गर्नुपर्ने हो । महामन्त्री थापा नेतृत्वको समितिले काम गर्न नसकेपछि क्रियाशील सदस्यतासम्बन्धी विवादकै कारण पनि अधिवेशन धकेलिने निश्चित छ ।

२०८२ मंसिरमा महाधिवेशन गर्नुपर्ने भए पनि त्यो समयमा महाधिवेशन हुने अवस्था देखिँदैन । क्रियाशील नवीकरण र नयाँ वितरण सकेर यससम्बन्धी पुराना विवाद हल गरेर क्रियाशील सदस्यता टुंगो लगाएपछि मात्र वडादेखि अधिवेशन सुरूवात हुनेछ । कांग्रेसले १५औं महाधिवेशनका लागि कार्यतालिका पनि ल्याएको छैन ।

गगन र विश्वका विषयमा प्रतिक्रिया दिन कुनै पनि पदाधिकारी र केन्द्रीय सदस्यहरू तयार छैनन् । गगन र विश्वसँग डराएर केन्द्रीय सदस्य र पदाधिकारीहरू थरथर छन् । अहिले नै यस्तो अवस्था छ । भोलिका दिनमा गगन वा विश्व नेतृत्वमा पुग्दाको अवस्था कस्तो होला ?

आफूलाई मन लाग्यो भन्दै विशेष महाधिवेशन भन्ने, आफूलाई मन नलाग्दा नियमित महाधिवेशन भन्ने ? महाधिवेशनको पनि केही नियम र प्रक्रियाहरू होलान् । कांग्रेसमा बस्न मन छैन भने बाटो खुला छ । सबै व्यक्तिहरू स्वतन्त्र छन् । नयाँ दल खोल्ने छुट पनि छ । अरु दलहरूमा प्रवेश गर्ने अधिकार पनि संविधानले दिएको छ । सामाजिक सञ्जालमा लोकप्रिय छु भन्दैमा व्यक्तिका लागि विधान र पद्धतिलाई लत्याउने कार्य कांग्रेसमा हुनु हुँदैन ।

१४औं महाधिवेशनमा कांग्रेसमा ८ लाख ८२ हजार ८ सय १६ जना क्रियाशील सदस्य थिए ।

Published : Friday, 2025 September 26, 2:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया