एनआरएनए अध्यक्ष श्रेष्ठ नेतृत्वको टोलीद्वारा प्रधानमन्त्री कार्की र मन्त्रहरूसँग भेट, पुनर्निर्माणमा सघाउने

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेशकुमार श्रेष्ठ नेतृत्वको टोलीले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरूलाई संयुक्त रुपमा भेट गरेको छ ।

बिहीबार सिंहदरबारमा अध्यक्ष श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डले प्रधानमन्त्री कार्कीसहित अर्थमन्त्री रामेश्वर खनाल तथा भौतिक पूर्वाधार, यातायात तथा उर्जामन्त्री कुलमान घिसिङसँग भेटवार्ता गरेको हो ।

एनआरएनएको टोलीले अन्तरिम सरकारलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दै विभिन्न विषय समेटिएको ज्ञापन पत्र पनि बुझाएको छ ।

एनआरएनएका अध्यक्ष श्रेष्ठले अहिले संघले हालै प्रदर्शनका क्रममा क्षतिग्रस्त ट्राफिक प्रहरीको कन्ट्रोल रुम पुनर्निर्माणमा काम गरिरहेको र थप अरू के गर्ने भन्ने विषयमा छलफल भई रहेको जानकारी दिएका छन् ।

प्रधानमन्त्री कार्कीले देश विकासमा एनआरएनहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै अहिलेको कठिन परिस्थितिमा नेपालको पुनर्निर्माण मा सघाउन संसार भरिका नेपालीहरू लाई आग्रह गरिन् । कार्कीले नेपाल सरकार संघसंग सहकार्य गर्न तत्पर रहेको पनि बताइन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले गत भदौ २३–२४ मा जेनजीद्वारा आह्वान गरिएको आन्दोलनका क्रममा सरकारी तथा निजी संरचनाहरू ध्वस्त भएको बताउँदै अहिले तत्काल सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रिन्ट गर्ने मेसिन आवश्यक रहेको र त्यसका लागि सहयोग गर्न एनआरएनलाई आग्रह गरेका छन् । एनआरएनएका अध्यक्ष श्रेष्ठले यस विषयमा कार्यसमितिको आगामी बैठकबाट निर्णय गर्ने बताएका छन् ।

एनआरएनका पूर्व अध्यक्ष तथा उच्चस्तरीय समितिका संयोजक डा. शेष घलेले सरकारलाई आवश्यक पर्ने कुनै प्रोजेक्ट भए आफू नेतृत्वको एमआईटी फाउन्डेसन सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।

एनआरएनका पूर्व अध्यक्ष कुल आचार्यले गैर आवासीय नेपाली नागरिकता कार्यान्वयनका लागि आग्रह गर्दै सामाजिक सुरक्षा कोषको रकम देश विकासमा परिचालन गर्न आग्रह गरेका छन् । आचार्यले संसारभरिका एनआरएनहरू नेपालमा हालै भएको धनजनको क्षतिबाट दुखी भएको जनाउँदै पुनर्निर्माणमा हातेमालो गर्न तत्पर रहेको बताएका छन् ।

एनआरएनका पूर्व अध्यक्ष आरके शर्माले गैरआवासीय नेपाली नागरिकता, सामाजिक सुरक्षा कोष र रेमिटेन्सलाई बचतमा रूपान्तरण गर्ने सामूहिक लगानीका विषयहरू उठाएका छन् । शर्माले श्रमिक नेपालीहरूको समस्या सम्बोधन गर्न नेपाल सरकारलाई आग्रह पनि गरेका छन् ।

भेटघाटमा एनआरएन अगुवाहरूले नेपालमा निजी क्षेत्र लगायत एनआरएनहरूको निजी सम्पत्ति तथा लगानीको सुरक्षा प्रत्याभूति गर्न पनि आग्रह गरेका छन् ।

प्रधानमन्त्री कार्की र मन्त्रीहरूसँगको संयुक्त भेटघाटमा एनआरएनए उच्चस्तरीय समितिका सदस्य सचिवद्वय रविना थापा तथा जानकी गुरुङ, श्रीमती जमुना घले, युएनडीओका अध्यक्ष सोनाम लामा लगायत सहभागी थिए ।

Published : Thursday, 2025 September 25, 10:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया