भौतिक पूर्वाधार पुनर्निर्माणका लागि कांग्रेस नेता राजभण्डारीद्वारा प्रधानमन्त्रीलाई ५१ लाख प्रदान

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद दीव्यमणि राजभण्डारीले जेनजी आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक तथा सरकारी संरचनाको पुनर्निर्माणका लागि सरकारलाई ५१ लाख रुपियाँ उपलब्ध गराएका छन् ।

बिहीबार सिंहदरबारमा कांग्रेस नेता भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई ५१ लाखको चेक हस्तान्तरण गरेका हुन् । नेता राजभण्डारीले उपलब्ध गराएको आर्थिक सहयोग भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा जम्मा हुनेछ । कोषमार्फत सरकारले पुनर्निर्माणमा लगाउनेछ ।

कांग्रेस नेता भण्डारीले भने, ‘भगवानको कृपा, गुरु देव र अग्रजहरूको आशीर्वादअनुसार दीव्य वचन पूरा भयो । रकम बैंक ट्रान्सफरमार्फत सरकारको कोषमा जम्मा गरिएको र दस्तावेज सम्माननीय प्रधानमन्त्रीज्यूलाई बुझाइयो ।’ कांग्रेस नेता राजभण्डारीले सबैलाई पूण्यकार्यमा सहभागी हुन पनि अनुरोध गरेका छन् ।

जेनजी आन्दोलनका क्रममा सरकारी भौतिक संरचनाहरू ध्वस्त भएका छन् । क्षति भएको भौतिक संरचना पुनर्निर्माका लागि कसैले पनि अग्रसरता नदेखाइरहेका बेला कांग्रेस नेता राजभण्डारीले पहिलो पटक सुशीला सरकारलाई साथ दिएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई जेनजी आन्दोलनका क्रममा बुढानिलकण्ठस्थित निवासमा प्रवेश गरेर घुसपैठ समूहले हत्या गर्ने गरी सांघातिक आक्रमण गरेका थियो ।

आक्रमणबाट सभापति देउवाकी पत्नी डा.आरजु राणा पनि गम्भीर घाइते भएकी छिन् । कांग्रेसकै नेता राजभण्डारीले सरकारलाई सबैभन्दा अगाडि अग्रसर बनेर सहयोग गरेका छन् ।

Published : Thursday, 2025 September 25, 6:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया