कांग्रेस कमजोर भए प्रजातन्त्र रहँदैन, जनतासँग माफी मागौँ : नेता भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले भदौ २४ गते भएको प्रदर्शनका क्रममा नियोजित घुसपैठबाट देशका ईतिहाँस तथा प्रजातन्त्रतका धरोहर संस्थाहरू खरानी बनाएको भन्दै चिन्ता जनाएका छन् ।

बुधबार नेता भण्डारीले विज्ञप्ति जारी गरेर घुसपैठ समूहले सिंहदरवार, सर्वोच्च अदालत, संसद भवन, सितल निवास लगायतका देशभरका कैयन सरकारी संरचना निमेसभरमा खरानी बनाएको बताए । उनले नेपालको प्रजातान्त्रिक आन्दोलनको मन्दिर, राजनीतिक चेतनाको धरोहरको रूपमा रहेको मोरङ्ग, विराटनगरस्थित सय वर्ष पुरानो ऐतिहासिक कोइराला निवास, आध्यात्मिक एवम् राजनीतिक आस्थाको अर्को धरोहर ललितपुर, बाँडेगाउँस्थित सन्तनेता कृष्णप्रसाद भट्टराई आश्रम लगायत आस्थाका धरोहर, स्मारकहरूमाथि आगजनी, व्यापारिक प्रतिष्ठान र निजी घर तथा सम्पत्तिमाथिको आगजनी र लुटपाटको घटनाको विरोध गरेका छन् ।

‘जेनजीको आन्दोलन त्यस्तै भयो । आन्दोलनको नियन्त्रण आन्दोलनकारीहरूको हातमा रहेन । आन्दोलनमा स्वदेशी, विदेशी तत्वको घुसपैठ भएको सङ्केतहरू प्रष्ट देखिँदैछ । यसको अझ स्पष्ट चित्र भविष्यमा उजागर हुँदै जानेछ,’ उनले भने ।

नेता भण्डारीले भने, ‘आन्दोलन कै क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उहाँकी धर्मपत्नी डा.आरजु राणामाथि आन्दोलनकारीको आवरणका लुटेरा र अवाञ्छित तत्वबाट भएको सांघातिक हमलाको हामी घोर भर्त्सना गर्दै हामी उहाँहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।’

‘नवगठित सरकारले २१ फागुनमा निर्वाचन गर्ने घोषणा गरिसकेको सन्दर्भमा नेपाली कांग्रेस जस्तोे प्रजातान्त्रिक पार्टीले सरकारलाई खबरदारी गर्दै निर्वाचनमा जानुको बिकल्प नरहला,’ उनले भने, ‘जनताबाट तिरस्कार भएको वर्तमान नेतृत्वलाई बोेकेर निर्वाचनमा गयौं भने नेपाली कांग्रेसले ठूलो क्षति व्यहोर्नु पर्ने यथार्थतालाई गम्भीरताका साथ लिनु पर्दछ ।’

उनले भने, ‘देशको मुख्य राजनीतिक दल र सच्चा प्रजातान्त्रिक शक्ति भएको नाताले नेपाली कांग्रेसले यसको जिम्मेवारी लिनु पर्दछ । कमजोरी स्वीकार गरी जनतासँग माफी माग्न हिचकिचाउनु हुँदैन । नेपाली कांग्रेसले विगतमा लिएका गलत नीति र निर्णय तथा यसको नेतृत्वले गरेका कमजोरीको निर्मम समीक्षा गरी यसलाई आगामी दिनमा सच्चाउने प्रतिवद्धता गरेर मात्र आम निर्वाचनमा जानु अत्यावश्यक छ ।’

‘नेपाली कांग्रेस कमजोर भएमा मुलुकमा प्रजातन्त्र नरहने विषयमा अब कुनै दुविधा छैन । यस्तो अवस्थामा देश र जनताको हितलाई ध्यानमा राखी पार्टीको नीति र नेतृत्व परिवर्तन गरेर जाआँै,’ उनले भने ।

‘पार्टीको विशेष गरेर महासमिति बैठकमा पटक पटक कुल सदस्य संख्याको बहुमतले सनातन हिन्दूराष्ट्रको माग गर्दै राखेको हस्ताक्षर तथा अनुरोधलाई प्रवाह गरेनौँ, हामी त्यसै बहकियौ,’ उनले भने ।

‘जनभावनाको परीक्षण बेगर देशलाई जबरजस्त ढंगले धर्मनिरपेक्ष राष्ट्र घोषणा, संघीयता, गणतन्त्र र मिश्रित निर्वाचन प्रणालीतर्फ धकेल्न पुग्यौँ,’ भण्डारीले भने, ‘सविधान निर्माणका क्रममा २४० निर्वाचन क्षेत्रका जनताले पठाएको सुझावलाई एक पटक खोलेर हेराँै भनि म जस्ता देशप्रेमी साथिहरुले गरेको अनुरोधलाई वेवास्ता गयौँ । नेपाली कांग्रेस जस्तो पार्टीले जनमतलाई कुल्चने काम ग¥यो ।’

‘नेपाली कांग्रेसका तमाम नेता, कार्यकर्ता, शुभेच्छुकलाई ढिला नगरी पार्टीको नीति र नेतृत्व बदल्ने दिशामा क्रियाशील हुन हार्दिक अपील गर्दछु,’ नेता भण्डारीले भने ।

Published : Wednesday, 2025 September 24, 9:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया