एनआरएन अध्यक्ष श्रेष्ठद्वारा ट्राफिक कन्ट्रोल रुमको अनुगमन, एआईजी कार्कीसँग भेट
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का आइसीसी अध्यक्ष महेशकुमार श्रेष्ठले सुरक्षा निकायसँग समन्वय गरेर पुनर्निर्माण सघाउने बताएका छन् ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको काठमाडौं उपत्यका ट्राफिक कार्यालय, रामशाहपथको कन्ट्रोल रुम पुनर्निर्माण कार्यको अनुगमन गर्दै अध्यक्ष श्रेष्ठले सुरक्षा निकायसँगको समन्वयमा काम गर्ने बताए ।
ट्राफिक प्रमुख (एसएसपी) नवराज अधिकारीसँगको भेटमा अध्यक्ष श्रेष्ठले जनजीवन सामान्य बनाउन र समाजलाई लयमा फर्काउन सडक सुरक्षा अत्यन्तै महत्वपूर्ण भएकाले आफूहरूले पुनर्निर्माणमा सघाउन लागेको बताए ।
एसएसपी अधिकारीले एनआरएनएले गरेको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्य गरेर अघि बढ्नु पर्ने बताएका छन् । अहिले कार्यालयको सेवा टेन्टबाट भइरहेको र ट्राफिक कन्ट्रोल रुम सञ्चालनमा आएपछि धेरै सहज हुने उनले बताए ।
एनआरएनए उपाध्यक्ष एवं डिजास्टर म्यानेजमेन्ट कमिटीका संयोजक मनोज श्रेष्ठ ‘गोर्खाली’ले अहिले फाउन्डेसनको काम भइरहेको बताउँदै उपकरणहरू चाँडै जडान हुने बताए ।
सहसंयोजक एवं महिला उपाध्यक्ष रश्मी थापाले कामदारको संख्या बढाएर भए पनि दशैंको टीका अगाडि काम सक्ने तयारी रहेको जानकारी दिइन् ।

जेनजी प्रदर्शनका क्रममा ट्राफिक कन्ट्रोल रुमको सबै संरचना जलेर ध्वस्त भएको छ । संरचना तयार पार्नका लागि कम्तीमा ८० लाख लाग्ने अनुमान गरिएको छ । एनआरएनएले कम्प्युटर, टिभी, फर्निचर, रेडियो सेट लगायतका उपकरण प्रदान गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
एनआरएन अभियन्ता राजेन्द्रकुमार शर्माले नेपाल सरकारले प्रवासमा बस्ने नेपालीहरूसँग सहकार्य गरेर पुनर्निर्माणमा ध्यान केन्द्रित गर्नु पर्ने बताएका छन् ।
मङ्गलबार नै अध्यक्ष श्रेष्ठले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी प्रमुख (एआइजी) दानबहादुर कार्कीसँग पनि छलफल गरेका छन् । एआइजी कार्कीले प्रहरीलाई आवश्यक पर्ने उपकरणहरू सहयोग गर्न लागेकोमा धन्यवाद दिए ।
एआईजी कार्कीसँगको भेटमा डीआईजी ओम रानाका साथै एनआरएनए अभिन्ता जानकी गुरुङ, युवा संयोजक भीमसेन थापा, सदस्य सचिव धर्मराज गिरी, सदस्यहरू प्रदीप खनाल, नीराजन खत्री लगायतको सहभागिता रहेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया