वडाध्यक्ष भुन्टुद्वारा भत्ताको रकम जेष्ठ, बेसाहरा नागरिकलाई वितरण

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्तनगर नगरपालिका वडा नं. १ का वडाध्यक्ष आसेफ कुँवर ‘भुन्टु’ले विगत ९ वर्षदेखि निरन्तर आफ्नो भत्ताको रकम जेष्ठ नागरिक र बेसहारालाई वितरण गर्दै आएका छन् ।

यस वर्षपनि वडाध्यक्ष कुँवरले राज्यबाट पाएको रकम जेष्ठ नागरिक र बेसहारालाई वितरण गरेका छन् । हरेक आर्थिक वर्षको पहिलो चौमासिक दशैँ तिहार अघि वितरण गर्दै आएका वडाध्यक्ष कुँवरले चालु आर्थिक वर्ष ०८२÷०८३ को असोज पहिलो साता सोमबार भत्ता वितरण गरेका छन् । पहिलो र दोस्रो स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका वडाध्यक्ष कुँवरले ०७४देखि ०८२सम्म निरन्तर भत्ता वितरण गरेका हुन् ।

‘मैले चुनावका बेला जनतासंग गरेको बाचा अनुरुप राज्यबाट पाउने रकम हरेक वर्ष ७० वर्षमाथिका जेष्ठ नागरिक र असक्तलाई दामाशाही हिसाबले रकम वितरण गर्दै आएको छु,’ वडाध्यक्ष कुँवरले भने, ‘मैले हरेक महिना पाउने २२ हजार ४७० रुपियाँ जेष्ठ, असक्त र असाहय नागरिकलाई दशैँअघि वितरण गर्दै आएको छुु ।’

आफ्नै भत्ता बाफत रकम वडाध्यक्ष कुँवरले वितरण गरेपछि जेष्ठ नागरिकदेखि असाहय नागरिक खुसी भएका छन् । कुँवरले ९ वर्षमा झण्डै २५ लाख बढी भत्ता बाफत पाएको रकम हरेक वर्ष डेढसयदेखि १ सय ७० वडाबासीले पाउँदै आएका छन् ।

स्थानीय लक्ष्मीदेवी विश्वकर्माले राज्यले दिएको सेवा सुविधा पनि जनतालाई वितरण गरेको कार्यबाट खुसी व्यक्त गरिन् । दलित महिला लक्ष्मीदेवीले दलितको अधिकारका लागि लड्नेहरूले केही नगरेपनि वडाध्यक्षले दशैँ मनाउन खर्च दिएको भन्दै खुसी व्यक्त गरिने ।

लीलादेवी दमाईले वडाध्यक्ष कुँवरले निरन्तर आफ्नो दुःखमा साथ दिएको बताइन् । जेष्ठ नागरिक हरसिह डगौराले आफ्नो निजी सुुविधाको रकम जेष्ठ नागरिकको खुसीका लागि भन्दै उनको आभार प्रकट गरेका छन् ।

Published : Monday, 2025 September 22, 8:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया