सामाजिक न्याय सहितको समृद्धिमा अघि बढाउनुपर्ने दायित्व आएको छ : मुख्यमन्त्री बानियाँ

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले संविधानले नेपाली जनतामा निहीत भई राज्य शक्तिको स्रोत नेपाली जनतालाई दिएको बताएका छन् ।

शुक्रबार संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै बानियाँले भने, ‘संविधानबाट नेपालको राष्ट्रिय सार्वभौमसत्ता नेपाली जनतामा निहीत भई राज्य शक्तिको स्रोत नेपाली जनता भएका छन् ।’

उनले भने, ‘अब मुलुकलाई सामाजिक न्याय सहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने दायित्व हाम्रो काँधमा आएको छ । यसका लागि संविधानले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले पूरा गर्नुपर्ने भनी निर्दिष्ट गरेका जिम्मेवारीहरू बहन गर्दै राष्ट्रिय समृद्धि हासिल गर्नका लागि निर्धारित लक्ष्यहरू प्राप्तिको दिशामा अधि बढनुपर्ने आजको मूल आवश्यकता हो ।’

‘बागमती प्रदेश सरकार संविधानको मर्म र भावना बमोजिम संघ र स्थानीय सरकारहरूसँग समन्वय, सहकार्य र सहअस्तित्वको भावना अनुरूप न्यायमुखी, आयमुखी, सेवामुखी, गरिवमुखी, विकासमुखी, जनमुखी सरकार सञ्चालन तथा प्रदेशवासीहरूलाई प्रदेश सरकारको तर्फबाट प्रदान गर्नुपर्ने हक र अधिकारको सुनिश्चितता गर्दै समुन्नत बागमती प्रदेश निर्माण गर्ने यात्रामा अधि बढ़दै जाने प्रतिबद्धता व्यक्त गर्दछु ।’

मुख्यमन्त्ती बानियाँले भने, ‘नेपालको राजनैतिक इतिहासमै प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ असोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवज्यूबाट नेपालको संविधान, २०७२ लाई हस्ताक्षर गरी अनुमोदन गरेसँगै जनताले चुनेका जनप्रतिनिधि मार्फत संविधान बनाउने ६५ वर्ष पुराने जनताको आकांक्षा साकार भएको अवसरको सम्झना र सम्मान स्वरूप संविधान दिवसलाई राष्ट्रिय दिवसको रूपमा मनाइरहेका छौं ।’

‘नेपालको संविधान, २०७२ को कार्यान्वयन पश्चात् पनि सुशासन र विकासका क्षेत्रमा जनअपेक्षाअनुसार प्रगति हुन नसकेको कारण जनमानसमा निराशा बढिरहेको अवस्थामा भ्रष्टाचार अन्त्य र सुशासनको माग गर्दै पछिल्लो चरणमा भएको जेन–जी पुस्ताको अभियान, प्रदर्शन र मागहरूको सकारात्मक सवाललाई सम्बोधन गर्नु जरुरी छ,’ उनले भने ।

‘प्रदेशमा सुशासन कायम गर्न र दिगो विकासका लागि सरकारका हरेक निकाय, राजनैतिक दल र नागरिकले संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ–आफ्नो तर्फबाट इमानदार प्रयासका लागि सबैमा आव्हान गर्दछु,’ मुख्यमन्त्री बानियाँले भने ।

Published : Friday, 2025 September 19, 6:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया