जघन्य अपराधिक घटनापछि कांग्रेस र नेतृत्वलाई बदनाम गर्न पैसाको सुरुङ भनियो : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी सचिवालयले सामाजिक सञ्जालमा देखाइएका दृष्यहरू कपोकल्पित, अतिरञ्जित र भ्रामकका साथै दुसित मनासयले बदनाम गर्ने उदेश्यले फैलाइएका भ्रामक समाचार रहेको जनाएको छ ।

बिहीबार सभापति देउवाका स्वकीय सचिव भानु देउवाद्वारा जारी विज्ञप्तिमा देउवा निवासमा पैसाको सुरुङ रहेको, जताततै पैसा भेटियो भनेर सम्प्रेषण भएका श्रव्य, दृष्य समाचारहरूको खण्डन गरिएको छ ।

‘त्यस्तो जघन्य अपराधिक घटनापछि पनि पार्टी र पार्टी नेतृत्वलाई बदनाम गर्ने उद्देश्यले विभिन्न सामाजिक सञ्जालहरूमा “देउवा निवासमा अत्याधिक पैसा भेटिएको, जलेका नोटका अंशहरू निवास परिसरमा जताततै भेटिएको, पैसाको सुरूङ्ग रहेको” जस्ता कपोकल्पित समाचार सम्प्रेषण भइरहेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

‘सामाजिक सञ्जालमा देखाइएका दृष्यहरू कपोकल्पित, अतिरञ्जित र भ्रामकका साथै दुसित मनासयले बदनाम गर्ने उदेश्यले फैलाइएका भ्रामक समाचार हुन्,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता बदनाम गराउने उदेश्यले विषेश गरी सामाजिक संजालहरूमा फैलाइएका हल्लामा कुनै सत्यता नभएको स्पष्ट पार्दछु ।’

‘विभिन्न सामाजिक सञ्जालमा घरभित्र रहेको अण्डर ग्राउण्ड ट्याङ्कीलाई विभिन्न अनुमान गरेर प्रचार प्रसार गरेको देखिएकाले उक्त पानी ट्याङकी रहेको स्पष्ट गर्दछु,’ विज्ञप्तिमा भनिएको छ, ‘जनमानसमा अपमानित गर्ने मनासयले प्रविधिको गलत प्रयोगबाट विभिन्न ठाउँमा विभिन्न समयका जलेका नोटका दृष्यहरू जोडेर सम्पादित फोटो र भिडियोहरू यूट्यूव तथा सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको पाइएको छ, यसमा कुनै सत्यता नभएको स्पष्ट पार्न चाहान्छौं ।’

‘यस्ता बदनाम गर्ने नियतले फैलाइएको भ्रामक सूचनाको पछि नलाग्न नेपाली बुबाआमा, दाजुभाई, दिदीबहिनी तथा पार्टीका सम्पूर्ण नेता एवं सदस्यहरू लगायत सम्वन्धित सबैसँग हार्दिक अनुरोध गर्दछु,’ सभापति देउवाको निजी सचिवालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

सभापति देउवाको निवासमा पैसा राखिएको सुरुङ भेटियो भन्ने, जलेका नोटहरू देखाएर पैसा भेटियो भन्ने, विदेशमा जलेका नोटहरू राखेर विदेशी पैसा भेटियो भनेर देउवा परिवार र कांग्रेसको बदनाम गर्ने प्रयास भएपछि त्यस्ता भ्रामक समाचारहरूको खण्डन गरिएको छ ।

Published : Thursday, 2025 September 18, 10:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया