मुख्यमन्त्री बानियाँद्वारा प्रस्तुत सुशासन र खर्च कटौतीको प्रस्ताव सर्वदलीय बैठकबाट सर्वसम्मत पारित

हेटौँडा । मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले सुशासन र खर्च कटौतीका लागि राखेको प्रस्तावलाई बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले समर्थन गरेका छन् ।

शुक्रबार हेटौँडामा बसेको बागमती प्रदेशमा रहेको राजनीतिक दलहरूको सर्वदलीय बैठकले मुख्यमन्त्री बानियाँको प्रस्तावलाई सर्वसम्मत पारित गरेका हुन् । निर्णयमा भनिएको छ, ‘शुसाशन र खर्च कटौतीको सवालमा प्रभावकारी ढंगले यथाशीघ्र कार्यक्रम ल्याएर अगाडि बढाउने निर्णय भएको छ ।’

बैठकले भदौ २३ र २४ गते भएको जेनजी अभियान प्रदर्शन र मागको क्रममा परी मृत्युभएका नागरिकहरूलाई श्रद्धाञ्जलि व्यक्त गर्दै मृतकको परिवारप्रति गहिरो दुःख व्यक्त गरेको छ । घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि बैठकले गरेको छ ।

शुक्रबार असोज ३ गते संविधान दिवस भव्यरुपमा मनाउनने निर्णय भएको मुख्यमन्त्री बानियाँले बताएका छन् । संविधान दिवसका अवसरमा बागमती प्रदेश सरकारले हेटौँडामा कार्यक्रम राखेको छ ।

‘जेनजी अभियान प्रदर्शन र मागको क्रममा बागमती प्रदेशभित्रका बागमती प्रदेश सरकार अन्तर्गतका विभिन्न सरकारी संरचनाहरुमा भएको क्षति, स्थानीय तहका संरचना र विभिन्न व्यक्ति र व्यक्तिका व्यवसायिक प्रतिष्ठानमा भएको क्षतिको विवरण संकलन गर्ने निर्णय भएको छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

सर्वदलीय बैठकले बागमती प्रदेशसभाको बैठक यथाशीघ्र संचालन गर्ने निर्णय पनि गरेको छ ।

बैठक मुख्यमन्त्री समेत रहेका नेपाली कांग्रेस संसदीय दलका नेता बानियाँको अध्यक्षतामा भएको थियो । बैठकमा एमाले संसदीय दलका नेता जेएन थपलिया, माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जमकट्टेल, नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनाल, नेकपा (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक रत्न ढकाल, कृषि तथा पशुपन्छीमन्त्री मधुसुदन पौडेलको उपस्थिति रहेको थियो ।

Published : Thursday, 2025 September 18, 9:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया